
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–२, अत्तरिया स्थित पि एफ ए स्पोर्ट्स क्लबको आयोजनामा हुने “खुल्ला पुरुष फुटबल मेयर कप २०८३” को उद्धघाटन गरिएको छ ।
गोदावरी नगरपालिका वडा नम्बर-२ स्थित बनदेवी युवा क्लबको खेल मैदानमा असार १२ गतेसम्म चल्ने प्रतियोगिताको आज वडा नम्बर १ का वडा अध्यक्ष एवम् नगर प्रवक्ता गोपादत्त भट्टले उद्धघाटन गरेका हुन् ।

प्रतियोगितामा गोदावरी नगरपालिकाका विभिन्न वडाका १० वटा टिमको सहभागिता रहेको छ । आज पहिलो खेल वडा नम्बर ८ र ४ बिच भएकोमा वडा नम्बर ८ ले ४ लाई ४-२ अन्तरले पराजित गरेको छ ।
प्रतियोगिताको विजेता टोलीलाई ट्रफी, प्रमाणपत्र, मेडलसहित रु. ५० हजार नगद पुरस्कार प्रदान गरिनेछ। उपविजेता टोलीले ट्रफी, प्रमाणपत्र, मेडलसहित रु. २५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ।
त्यसैगरी प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु. १० हजार, उत्कृष्ट गोलरक्षकलाई रु. ५ हजार, उत्कृष्ट उदयीमान खेलाडीलाई रु. ५ हजार, उत्कृष्ट मिडफिल्डरलाई रु. ५ हजार, उत्कृष्ट अग्रपंक्ति खेलाडी (स्ट्राइकर) लाई रु. ५ हजार तथा म्यान अफ द म्याच लाई प्रत्येक खेलमा रु. १ हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।















