
कैलाली – माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली नदी जब कैलालीको चिसापानी पुग्छ, तब एक छिन आफ्नै सौन्दर्य नियाल्न रोकिएझैँ लाग्छ । नदीमाथि एक खम्बामा उभिएको चिसापानी पुल हावासँगै हल्लिँदा प्रकृति र प्रविधिबिचको अद्भुत संवाद झल्किन्छ । नदीको सुसेली, वरिपरिका हरिया डाँडा र पुलको दृश्यले त्यसमा सौन्दर्य थप्छन्, यसले यहाँ पुग्ने जोकोही सजिलै मोहित हुन्छन् ।
चिसापानीको सानो भूगोल मात्रै होइन, प्रकृतिले सुदूरपश्चिमलाई धेरै दिएको छ, तर वर्षौँदेखि ती उपहारहरू सम्भावनाको सीमाभित्रै कैद छन् । त्यसैले यहाँ दशकौँदेखि एउटा प्रश्न अनुत्तरित छ— के यहाँका प्राकृतिक सम्पदा कहिल्यै समृद्धिको आधार बन्न सक्छन् रु पछिल्ला दिनमा भने सरकारी तथा निजी क्षेत्रबाट त्यसको उत्तर दिन केही प्रयास सुरु भएका छन् । तिनै प्रयासमध्येको एक महत्त्वाकाङ्क्षी परियोजना हो– जालपादेवी केबलकार ।

कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीदेखि मोहन्याल गाउँपालिका–७ राजकाँडा क्षेत्रमा केबलकार र यस परियोजनाअन्तर्गत विभिन्न पूर्वाधार बन्दैछन् । आइएमई समूहको मुख्य लगानीमा बन्न लागेको यस परियोजनालाई सुदूरपश्चिमको पर्यटन र आर्थिक विकासका लागि महत्त्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । विभिन्न चरणमा गरी करिब रु ६ अर्ब लगानी अनुमान गरिएको परियोजनामा तीन दशमलव एक किलोमिटर लामो केबलकार, होटल, रेस्टुरेन्ट, स्काइवाक, पार्क, पदमार्ग तथा अन्य पर्यटकीय पूर्वाधार निर्माण भइरहेका छन् ।
यस परियोजनाले सुदूरपश्चिमको आर्थिक भविष्यको ‘जग’ हाल्नुका साथै चिसापानीलाई नेपालकै आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने धेरैको विश्वास छ । त्यसैले यसलाई एउटा पूर्वाधार मात्र होइन, सुदूरपश्चिमको पर्यटन, रोजगारी र आर्थिक विकाससँग जोडिएको ठुलो सपनाका रूपमा हेर्ने गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घ सुदूरपश्चिमका अध्यक्ष पुष्पराज कुँवर यति ठुलो निजी लगानीको पर्यटन आयोजनालाई ऐतिहासिक अवसरका रूपमा लिनुपर्ने बताउँछन् । उनी भन्छन्, ‘सुदूरपश्चिममा यति ठुलो निजी लगानीको पर्यटन आयोजना निर्माण हुनु आफैँमा ऐतिहासिक छ । केबलकार सञ्चालनमा आएपछि होटल, यातायात, कृषि, व्यापार र सेवा क्षेत्र सबैले प्रत्यक्ष लाभ पाउनेछन् ।’
त्यसैगरी टीकापुर र लम्की उद्योग वाणिज्य सङ्घका अध्यक्ष सन्तोष खड्का र पदमराज चौलागाईं पनि सुदूरपश्चिम क्षेत्रमा आएको यो ठुलो लगानीको आयोजना प्रदेशवासीकै गौरव हो भन्दै यसले प्रदेशमा थप लगानी आकर्षित गर्नका लागि ठुलो मद्दत पुग्ने धारणा राख्छन् ।
गोण्डोलासँगै झुल्नेछन् समृद्धिका सपना
करिब एक दशकअघि स्थानीय व्यवसायीहरूले चिसापानी क्षेत्रमा पर्यटन पूर्वाधार विकास गर्ने महत्त्वाकाङ्क्षी सपना देखेका थिए । त्यो सपनासँग विभिन्न क्षेत्रका ९९ जना व्यवसायी जोडिएका थिए । विभिन्न कारणले लामो समयसम्म अघि बढ्न नसकेको उक्त योजना आइएमई समूहको सहभागितापछि निर्माणको चरणमा पुगेको हो । यो परियोजना विसं २०८१ पुस १३ मा शिलान्यास भई गत वर्ष असारमा निर्माण सुरु भएको थियो ।
आयोजनाका इन्जिनियर विजय पौडेलका अनुसार परियोजनाको निर्माण कार्य हाल तीव्र गतिमा अघि बढिरहेको छ । हाल यहाँ पोल ठड्याउने, बटम तथा टप स्टेसन निर्माणलगायतका काम अन्तिम चरणमा छन् । त्यसपछि तार तान्ने र गोण्डोला जडान गर्ने प्राविधिक प्रक्रिया अघि बढ्नेछ ।
‘हामी तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम गरिरहेका छौँ । आगामी असोजसम्म परियोजना सञ्चालनमा ल्याउने तयारी छ । सो लक्ष्यसहित प्रथम चरणका काम धमाधम गरिरहेका छौँ’, उनले भने, ‘पोल ठड्याउने (इरेक्सन), बटम तथा टप स्टेसन निर्माणको काम सम्पन्न हुने क्रममा छ । त्यसलगत्तै तार तान्ने (स्ट्रिङगिङ) र गोण्डोलाहरू जडान गर्ने प्राविधिक काम अगाडि बढ्नेछन् ।’
हाल टप स्टेसनमा होटल, रेस्टुरेन्ट, पार्क, जालपादेवी मन्दिर, स्काई वाक, वाकिङ ट्रेल तथा अन्य पर्यटकीय संरचना निर्माण भइरहेका छन् भने बटम स्टेसनमा पाँचतारे होटल, ब्यान्क्वेट हल र अन्य सुविधायुक्त संरचना तयार हुँदैछन् । इन्जिनियर पौडेल भन्छन्, ‘यहाँ निर्माण भइरहेका पूर्वाधारले यस क्षेत्रलाई देशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्नेछन् ।’
लम्कीचुहा उद्योग वाणिज्य सङ्घका अध्यक्ष दीपक तिमिल्सेना करिब १३ वर्षअघिको सपनाले साकार रूप लिन थालेकाले स्थानीय क्षेत्रमा उत्साह थपिएको बताउँछन् । केबलकार परियोजना सञ्चालनमा आए कैलालीको अत्यधिक गर्मीबाट जोगिन शीतलता खोज्ने रैथाने नागरिक र बाह्य पर्यटक दुवैका लागि राजकाँडा एउटा उत्कृष्ट ‘हिल स्टेसन’ बन्ने उनको भनाइ छ । यहाँ निर्माण हुने सुविधा सम्पन्न पूर्वाधारले पर्यटकको बसाइँ लम्ब्याउन, खर्च बढाउन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन कोशढुङ्गाको काम गर्ने तिमिल्सेनाको विश्वास छ ।
पर्यटन र अर्थतन्त्र सुधारको आधार
हाल चिसापानी क्षेत्रमा चिसापानी पुलबाहेक धेरै पूर्वाधार छैनन्, तथापि दैनिक जसो करिब पाँचदेखि सात सय आन्तरिक पर्यटक पुल हेर्नकै लागि यहाँ आउने गरेका जानकारहरू बताउँछन् । यसरी आउने अधिकांश पर्यटक केही घण्टा बिताएर फर्किने गरेका छन्, तर नयाँ संरचना सञ्चालनमा आएमा उनीहरूको बसाइँ लम्बिने र यसबाट स्थानीय स्तरमा आर्थिक अवसरका ढोका खोल्ने पर्यटन व्यवसायी देवराज जैसीको विश्वास छ ।
यहाँ निर्माण हुने केबलकारले चिसापानीलाई राजकाँडासँग जोड्नेछ, तर यसको प्रभाव केबल केही मिनेटको यात्रामा सीमित रहने छैन । यहाँ निर्माण हुने पूर्वाधारले राजकाँडालाई नयाँ पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने अपेक्षा गरिएको छ । त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी, र्याफ्टिङ (जल पर्यटन) लगायत साहसिक पर्यटनलाई ‘प्याकेज’कै रूपमा विकास गरिनुपर्ने व्यवसायी जैसीको सुझाव छ ।
‘राज्यले पनि अब गन्तव्य सुदूरपश्चिमको नीतिअनुसार काम गर्नुपर्छ । यहाँका सम्भावनालाई एउटा प्याकेजमा जोडेर विकास गर्न सकिए कर्णाली चिसापानीबाट समृद्धिको नयाँ यात्रा तय गर्न सकिन्छ । त्यसको आधारका रूपमा केबलकार र त्यससँग जोडिएका संरचनालाई लिन सकिन्छ’, उनी भन्छन् ।
पर्यटन विकासको सबैभन्दा ठुलो लाभ स्थानीय समुदायले पाउनुपर्छ भन्ने मान्यता छ । होटल व्यवसायी टङ्क पराजुली जालपादेवी केबलकार परियोजना सञ्चालनमा आए स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जनामा टेवा पुग्ने बताउँछन् । ‘परियोजना सञ्चालनमा आए निश्चय पनि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने छ, जसले राजकाँडा र आसपासका गाउँमा उत्पादित सामग्रीले बजार पाउनेछन् । यसले किसानलाई उत्पादन बढाउन र युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्न सहयोग पुर्याउनेछ । त्यसैले यस्ता परियोजनाहरू हाम्रो क्षेत्रमा बन्नु निकै खुसीको कुरा भएकाले नै स्थानीयहरूमा पनि यस्ता आयोजनाहरू साझा सम्पत्ति हुन् भन्ने भावना जागृत हुनु आवश्यक छ’, उनले भने ।
खुल्दैछ रोजगारीको नयाँ ढोका
सुदूरपश्चिमका धेरै युवाको रोजगारीको अन्तिम विकल्प अझै भारत वा खाडी मुलुक हुन् । गाउँका खाली हुँदै गएका घर, वृद्धवृद्धा र बालबालिकामा सीमित हुँदै गएको सामाजिक संरचनाले यही यथार्थ बोलिरहेको छ, तर जालपादेवी केबलकार परियोजनाले त्यो प्रवृत्तिलाई केही हदसम्म रोक्न सक्ने स्थानीयको आशा छ ।
केबलकार सञ्चालनसँगै होटल, रिसोर्ट, रेस्टुरेन्ट, यातायात, मनोरञ्जन तथा सेवा क्षेत्र विस्तार हुनेछन् । ती गतिविधिबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा हजारौँ रोजगारी सिर्जना हुने व्यवसायी कालु हमालको अपेक्षा छ ।
रासस













