सरकारी कार्यालयमा रास्वपा सचिवको बिल आतंक

Image
maya metro

डडेल्धुरा – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को डडेल्धुरा जिल्ला सचिव टंकप्रसाद अवस्थीमाथि गैर पत्रकार र सरकारी कार्यालयमा विज्ञापन भुक्तानीको बिल पेश गरेको आरोप लागेको छ ।

पत्रकारिता पेशामा सक्रिय नरहेका उनले ‘नयाँ युग संवाहक’ पत्रिकामा विज्ञापन छापेको जनाउँदै भुक्तानीका लागि सरकारी कार्यालयमा बिल पेश गरेपछि कर्मचारीहरुले टाउकोमा हात राखेका छन् ।

nisarga

अवस्थी आफूलाई राजनीतिकर्मी बताउँछन् । तर रास्वपामा आबद्ध उनले आफूलाई पत्रकार भन्दै बिल पेश गरेर असुली गरिरहेको स्रोतको दावी छ । स्रोत भन्छ,‘उहाँ राजनीतिकर्मी हुनुहुन्छ । रास्वपाको जिल्ला सचिव हुनुहुन्छ । असार मसान्त आउन थालेसँगै उहाँले धमाधम बिल पेश गरिरहनुभएको छ । भुक्तानीका लागि दबाब दिइरहनुभएको छ ।’

उक्त पत्रिकाका प्रकाशक अवस्थी स्वयम् हुन् । तर,लामो समयदेखि पत्रिका नियमित प्रकाशन भएको देखिँदैन । विज्ञापनको रकमका लागि मात्रै उनले पछिल्लो एकाध अंक प्रकाशन गरेको स्रोतको जिकिर छ । नेपाल पत्रकार महासंघ,डडेल्धुरा शाखाका अध्यक्ष हिक्मत सिंहका अनुसार उनी पत्रकारिता पेशामा आबद्ध छैनन् ।

उनले भने, ‘उहाँ पत्रकार पनि होइन । शाखाको सदस्यता पनि छैन । तैपनि उहाँले सरकारी कार्यालयमा विज्ञापनको भुक्तानीका लागि बिल पेश गरिरहनुभएको छ । हामीकहाँ पनि गुनासो आएको छ ।’ डडेल्धुरा अस्पतालमा उनको पत्रिकाको बिल देखेको अध्यक्ष सिंहले बताए ।

यता,अवस्थीले आफूले बिल पेश नगरेको जिकिर गरे । सो पत्रिका अर्कैलाई चलाउन दिइसकेको उनको भनाइ छ । नामसारी हुन नसकेकाले आफ्नो नाममा बिल गएको हुनसक्ने उनको भनाइ छ । ‘म रास्वपाको जिल्ला सचिव बनेको एक महिना भयो । पहिला त्यो पत्रिका मेरै हो । अहिले साथीहरुले चलाउनुहुन्छ । नामसारी नभइसकेकाले मेरो नाममा बिल पेश भएको हुनसक्छ’,उनले भने ।