
अत्तरिया – सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटनाको सङ्ख्या वर्षेनी वृद्धी हुँदै गएको छ । सवारी चालक, यात्रु, अस्तव्यस्त सडक लगायतका कारणले दैनिक कुनै न कुनै सडक दुर्घटना भइरहेकै हुन्छन् । शनीबार (हिजो) मात्रै डडेल्धुरामा जिप दुर्घटना हुँदा दुई जनाले ज्यान गुमाए भने कैलालीमा मोटरसाइकल दुर्घटनामा एक युवकले ज्यान गुमाए ।
त्यस्तै गत असार २७ गते बझाङमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भयो । केदारस्यूँ गाउँपालिका–७ मा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका ६ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज रेफर गरियो । यि त केहि प्रतिनिधि घटना मात्रै हुन् । सुदूरपश्चिममा गत आर्थिक वर्ष २०८२/८३ मा मात्रै २०५ जनाले सडक दुर्घटनामा ज्यान गुमाएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ ।

आर्थिक वर्ष २०८०/८१ मा १७२ र २०८१/८२ मा १९२ जनाले ज्यान गुमाएको प्रहरीको तथ्याङ्क छ । प्रहरीका अनुसार गत आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा १ हजार ४७३ दुर्घटना भएका छन् । दुर्घटनामा घाइते हुनेको सङ्ख्या पनि कहाली लाग्दो छ । गत आर्थिक वर्षमा मात्रै सडक दुर्घटनामा २ हजार ३४३ जना घाइते भएका छन् । त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिमका नौ वटै जिल्लामा गरि एक हजार दुई सय तीन सडक दुर्घटना भएका थिए ।
यो सङ्ख्या आर्थिक वर्ष २०८०/८१ को तुलनामा झण्डै चार गुणाले बढी हो । प्रहरीको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा ३०९ वटा सडक दुर्घटनामा ५३६ जना मानिस घाइते भएका थिए । आर्थिक वर्ष २०८०/८१ डिआइआरएस (दैनिक घटना रिपोटिङ्ग प्रणाली) लागू गरेपछि दुर्घटना सङ्ख्या बढी देखिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले जनाएको छ । यस प्रणाली अन्तरगत सडकमा भएका साइकल देखि ठुला सवारीसम्म हरेक दुर्घटनाको तथ्याङ्क राख्ने गरिन्छ ।
आर्थिक वर्ष २०८१/८२ मा सुदूरपश्चिमका नौ वटै जिल्लामा भएका एक हजार २०३ सडक दुर्घटनामा १९२ जनाको मृत्यु भएको छ भने दुई हजार चार जना घाइते भएका छन् । प्रहरीको तथ्याङ्क अनुसार सुदूरपश्चिममा २०८०/८१ मा ३०९ वटा सडक दुर्घटना हुँदा १७२ जनाले ज्यान गुमाएका थिए भने ५३६ जना घाइते भएका थिए । त्यस्तै गत आर्थिक वर्ष २०८२/८३ मा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले ३९ हजार २१२ सवारी साधनलाई कारबाही गर्दै ३ करोड १८ लाख ८५ हजार ५०० रुपैयाँ राजश्व सङ्कलन भएको जनाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाले ६१ हजार ५७६ सवारी साधनलाई कारबाही गर्दै चार करोड ४१ लाख ५१ हजार राजश्व सङ्कलन गरेको थियो । आर्थिक वर्ष २०८०/८१ मा उक्त कार्यालयले ७३ हजार ४७९ सवारी साधनलाई कारबाही गर्दै चार करोड ८९ लाख ८७ हजार राजश्व सङ्कलन गरेको थियो । प्रहरीले वर्षेनी ट्राफिक सचेतनाका हजारौँ कार्यक्रमहरु पनि गर्दै आइरहेको छ तर तिनको प्रभावकारिता भने देखिएको छैन ।
आर्थिक वर्ष २०८०/८१ मा प्रहरीले प्रदेशका नौ वटै जिल्लामा ५ हजार ९३० वटा जनचेतनामूलक कार्यक्रम गर्दै ३ लाख ६५ हजार ४१३ जनालाई ट्राफिक नियमबारे जानकारी गराएको थियो । त्यस्तै आर्थिक वर्ष २०८१/८२ मा ७ हजार ६४५ कार्यक्रममार्फत २ लाख ७८ हजार ६४५ जनालाई ट्राफिक सचेतना दिइएको प्रहरीले जनाएको छ । आर्थिक वर्ष २०८२/८३ मा ६ हजार २०६ वटा सचेतनामूलक कार्यक्रममार्फत १ लाख ९४ हजार ३९७ जनालाई ट्राफिक नियमबारे जानकारी गराइएको छ ।














