मुख्यमन्त्री शाहद्वारा लम्कीमा बिउ प्रशोधन तथा भण्डारण गृह उद्घाटन

Image
maya metro

अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कैलालीको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित किसान बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा निर्माण गरिएको बिउ प्रशोधन तथा भण्डारण गृह भवनको उद्घाटन गरेका छन ।

बुधबार आयोजित उद्घाटन कार्यक्रममा मुख्यमन्त्री शाहले कृषि क्षेत्रको आधुनिकीकरण, गुणस्तरीय बिउ उत्पादन तथा सुरक्षित भण्डारणका लागि यस्ता पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले सहकारीमार्फत किसानलाई उत्पादनदेखि बजारीकरणसम्म जोड्ने प्रयासलाई प्रदेश सरकारले निरन्तर प्रोत्साहन गर्ने उल्लेख गरे।

nisarga

उक्त भवन सुदूरपश्चिम प्रदेश सरकारअन्तर्गत भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय तथा कृषि विकास निर्देशनालयको लागत साझेदारी कार्यक्रमअन्तर्गत निर्माण गरिएको हो।

आयोजनाको कुल सम्झौता रकम ३४ लाख ५७ हजार रुपैयाँ रहेकोमा बोलपत्र स्वीकृत रकम ३४ लाख ३० हजार रुपैयाँ कायम गरिएको थियो। कृषि विकास निर्देशनालयले १७ लाख १५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको छ भने बाँकी रकम सहकारी संस्थाले आफ्नै स्रोतबाट व्यवस्थापन गरेको जनाएको छ। सहकारीका अनुसार निर्माण कार्य सम्पन्न गर्न सम्झौताभन्दा बढी रकम खर्च भएको छ।

सहकारी संस्थाले बिउ प्रशोधन तथा भण्डारण गृह सञ्चालनमा आएपछि स्थानीय किसानले उत्पादन गरेको बिउको गुणस्तर संरक्षण, सुरक्षित भण्डारण तथा बजार व्यवस्थापनमा उल्लेखनीय सहजता हुने विश्वास व्यक्त गरेको छ। यसबाट कृषि उत्पादनको मूल्य अभिवृद्धिसँगै किसानको आयस्तर बढाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।