
गृहमन्त्री सुधन गुरुङले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्या प्रकरणबारे प्रश्न सोध्ने राष्ट्रिय सभाका सांसदलाई प्रतिप्रश्न गरेका छन् । राष्ट्रिय सभाको बिहीबारको बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले निर्मला पन्तले कहिले न्याय पाउँछिन् भनी प्रश्न सोधेपछि गृहमन्त्री गुरुङले प्रतिप्रश्न गरेका हुन् ।
निर्मला पन्तको विषयमा सोधिएको प्रश्नमा मन्त्री गुरुङले प्रतिप्रश्न गर्दै भने, ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन रु अहिले हामीलाई भारी बोकाउँदा यो मुद्दामा सूक्ष्म अनुसन्धान भइरहेको छ।’

मन्त्री गुरुङले पीडित परिवारको घाउलाई सदनमार्फत बारम्बार नकोट्याउन आग्रह गरे । ‘यसको प्रगतिबारे मलाई व्यक्तिगत रूपमा आएर सोध्नुहोला, मसँग उत्तर छ तर यसरी सार्वजनिक रूपमा पटक–पटक चर्चा गर्दा आमाको पीडा मात्रै बल्झिन्छ।’
मन्त्रीको यस्तो जवाफपछि सांसद विश्वकर्माले आपत्ति जनाउँदै संसद्मा प्रश्न सोध्न पाउनु आफ्नो विधायकी अधिकार भएको र मन्त्रीले जवाफ दिनै पर्ने अडान राखेका थिए ।
सांसद विश्वकर्माले युवाहरूमा बढिरहेको चरम निराशा, आत्मदाह र आत्महत्याका घटना रोक्न सरकारले के गरिरहेको छ भनी अर्को प्रश्न सोधेका थिए । जवाफमा गृहमन्त्री गुरुङले यसलाई मानसिक स्वास्थ्यसँग जोडेर हेर्नुपर्ने बताए ।















