
काठमाडौं – देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भारी वर्षाको पूर्वानुमान छ ।
कर्णाली प्रदेशको पहाडी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम, कोसी र वाग्मती प्रदेशको हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । मधेस, कोसी र वाग्मती प्रदेशको तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
हिमाली भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थानमा तथा कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा तथा मधेस, कोसी, वाग्मती र गण्डकी प्रदेशका तराई भूभागको एकदुई स्थानमा मध्यमसम्मको वर्षाको पूर्वानुमान छ ।
विभागले राति हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । तराई भूभागमा आंशिक बादल लाग्नेछ ।
हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा केही उत्तर (नेपालनजिक) तथा पूर्वी भूभागमा सरदर स्थानको आसपास रहेको विभागले बताएको छ ।













