संघर्षलाई शक्ति बनाएकी राजुदेवी विक

Image
maya metro

अत्तरिया – जीवन सधैं हाम्रो योजनाअनुसार चल्दैन कहिलेकाहीँ यसले कल्पनाभन्दा कठोर सत्यसँग सामना गराउँछ । कहिलेकाहीँ जीवनले यस्ता खबर सुनाउँछ, जसका लागि मानिस कहिल्यै तयार हुँदैन । त्यस्तै एउटा खबरले राजुदेवीको सिङ्गो संसार पनि बदलियो । २०६१ असार १३ गते आएको एउटा खबरले उनको जीवनको रुपरंग फेरियो । रातभर नराम्रो सपना देखेर डराएकी राजुलाई बिहान आगन बढार्दै गर्दा बोलाउन छिमेकी दिदी आइन जस्को घरमा टेलिफोन जडान थियो ।

हरेक हप्ता श्रीमानको सन्चो–बिसन्चोसँगै मायाको सन्देश बोकेर बज्ने टेलिफोनको त्यही घण्टी त्यस दिन भने जीवनभर नमेटिने पीडाको प्रतिध्वनि बनेर बज्यो । त्यो घण्टीको आवाजले एकै क्षणमा राजुदेवीको संसार बदलिदियो । त्यस दिन सुनेका शब्दहरू समय बित्दै जाँदा धमिला भएनन् बरु आज पनि उनको मनमा उस्तै ताजा छन्, कानमा उस्तै गरी गुञ्जिरहन्छन् । त्यसदिन कोषौँ टाढाबाट टेलिफोनमा कसैले भनेको थियो “तुमरा आदमी गिरगया (तिम्रो श्रीमान बितिसके)।” वर्षदिन नपुगेको एकसहित ४ सन्तानकी यि २५ वर्षीय आमालाई दिउँसै रात पर्न यो भन्दा अरु के चाहिन्थ्यो ?

nisarga

खबर सुनेपछि त्यहि आगनमा बेहोस भएर ढलेकी कैलालीको गोदावरी १ की राजुदेवी विकले करिब तीन वर्ष होस बेहोसमै बिताइन् । कमाउन भनेर जेठ २५ गतेमात्रै भारतको केरला पुगेका उनका श्रीमान लक्ष्मणको सर्पको टोकाइबाट मृत्यु भयो । फोनमै आएको खबरका आधारमा घरमा काजक्रियाको काम गरियो । भारतमा भएका आफन्तहरुले लक्ष्मणको उतै अन्त्ष्टी गरे । राजुले श्रीमानको अन्तिम अनुहार समेत देख्न पाइनन् । त्यसपछि उनको जीवनमा संघर्षका अध्याय एकपछि अर्को थपिँदै गए ।

श्रीमान गुमाएको पीडाभन्दा ठूलो थियो चार सन्तानको भविष्य सुरक्षित गर्ने चुनौती । चार सन्तानले बुवाको भरोसा गुमाए, राजुले जीवनको आधा हिस्सा गुमाइन । बन्दै गरेको पक्की घर अधुरै रह्यो । त्यसपछिका तीन वर्ष आँसु बगाउँदै होस बेहोसमै बिते । त्यो समयमा आफ्नो परिवारले आफूलाई निकै सहयोग गरेको राजु सम्झिन्छिन् । “त्यो समयमा मेरो परिवारका सदस्यहरुले मलाई सम्पूर्ण सहयोग गरे, तीन वर्ष मेरा छोराछोरीलाई मात्रै होइन् मलाई पनि सम्हाले उनले भनिन् ।” मुटु नै दिन्छु भन्ने मान्छे साथमा नभएपछि पनि जीवन रोकिन्न रहेछ । सबैभन्दा प्रिय व्यक्ति गुमाउँदाको पीडाभन्दा ठूलो अर्को यथार्थ थियो बाँच्नै पर्ने बाध्यता ।

बिस्तारै आफ्नो अवस्था सामान्य हुन थालेपछि राजुदेवीलाई अब चार सन्तानलाई कसरी हुर्काउने भन्ने चिन्ताले पिरोल्न थाल्यो । त्यही चिन्ताले हो उनलाई हार मान्न होइन संघर्ष गर्न सिकाएकोे । सरसफाइ गर्ने मान्छे मागेको छ भन्ने थाहा पाएपछि राजुदेवीले घर नजिकै रहेको सेवा नर्सिङ होममा सम्पर्क गरिन् त्यहाँ सफाइकर्मीको काम गर्न थालिन् । जागिर पाएपछि राजुदेवीको पहिलो प्राथमिकता आफ्ना छोराछोरीलाई विद्यालयको ढोकासम्म पु¥याउनु थियो। उनी आफैंले दुःख भोगेकी थिइन् । त्यसैले सन्तानको भविष्य शिक्षामै देख्थिन् ।

तर एउटा सामान्य जागिरको आम्दानीले घरखर्च, पढाइ र परिवारको जिम्मेवारी धान्न सक्ने अवस्था थिएन । त्यसैले उनले आरामको बाटो होइन थप संघर्षको बाटो रोजिन्। बिहानदेखि साँझसम्म उनी तीन–तीन ठाउँमा सफाइकर्मी र खाना पकाउने काम गर्थिन् । एउटा काम सकिनासाथ अर्को कामतर्फ दौडिन्थिन् । त्यो व्यस्तताका बीच पनि आमाको मन भने सधैं छोराछोरीमै अडिएको हुन्थ्यो । फुर्सद मिल्नेबित्तिकै घर पुगेर उनीहरूको स्याहार–सुसार गर्थिन्, स्कुलका लागि तयार गर्थिन, फेरि काममा फर्किन्थिन् ।

आफ्ना थकान र पीडालाई लुकाएर उनले हरेक दिन सन्तानको भविष्यका लागि पसिना बगाइन् । राजुले चाहेजस्तै छोराछोरी राम्रो पढे, कहिल्यै कुनै कुरामा दुख दिएनन्,कुनै कुरामा जिद्धी गरेनन् । “आमाको अवस्था बुझेर होला मेरा नाबालक छोराछोरीले खाना पकाउनेदेखि घरायसी सबै काम साँझबिहानको समयमा आफै गर्थे । मैले कहिल्यै उनीहरुलाई काम अह्राउनु परेन । उनी भन्छिन् ।” अहिले विवाह भइसकेका दुई छोरी मध्य कान्छी छोरी आफ्नै आफ्नै वडाको स्वास्थ्य संस्थामा नर्स छिन् । दुई छोरा रोजगारीकोक्रममा विदेशमा छन् ।

अचेल उनलाई कुनै भौतिक चिजको दुख छैन, अभाव छैन तर अन्तिम क्षणमा समेत श्रीमानको अनुहार हेर्न नपाएको थकथकी भने असाध्यै छ । श्रीमानको निधन हुँदा उनकी जेठी छोरी मात्र सात वर्षकी थिइन्। सानै उमेरमा बुवाको साथ गुमाएका छोराछोरीका स्मृतिमा बुवाको अनुहारसमेत स्पष्ट छैन। समय बित्दै जाँदा उनीहरू कहिलेकाहीँ आमासँग सोध्छन्, “हाम्रा बुवा कस्ता हुनुहुन्थ्यो?” उनीहरू आफ्नै कल्पनामा एउटा अनुहार कोर्छन्, एउटा अभिभावकको रूप खोज्छन् ।

आफ्नो खुट्टामा उभिन थालेपछि राजुदेवीको जीवनले नयाँ मोड लियो। जागिरले उनलाई केवल आर्थिक आत्मनिर्भरता मात्र दिएन, समाजको विश्वास पनि दिलायो,राजनितिमा समेत सक्रिय बनायो । । हिजोसम्म आफ्नै पीडासँग संघर्ष गरिरहेकी उनी, विस्तारै अरूका दुःख सुन्ने र तिनका समस्या समाधानको बाटो खोज्ने भरोसायोग्य पात्र बन्दै गइन् । मानिसहरूले आफ्ना घर–परिवारका झमेलादेखि व्यक्तिगत पीडासम्म उनीसँग निर्धक्क राख्न थाले । किनकि उनी केवल सुन्ने मात्र होइनन्, पीडाको गहिराइ बुझेर समाधानका लागि पहल गर्ने स्वभावकी छिन् । यही विश्वासले उनलाई समाजसेवाको यात्रातर्फ डो¥यायो ।

अचेल टोलमा भएका सामान्य विवादमा होस्, महिलामाथि भएको हिंसाको घटना होस् वा अन्य कुनै सामाजिक समस्या होस्, राजुदेवी सबैभन्दा पहिले पुग्ने अनुहारमध्ये एक हुन् । वडा नम्बर १ की मेलमिलापकर्ता समेत रहेकी उनका लागि समाजसेवा कुनै पद, प्रतिष्ठाका लागि नभइ आफूले भोगेको दुःखबाट सिकेको जीवनको पाठ हो । त्यसैले उनी अरूको पीडामा आफ्नै पीडा देख्छिन् र सकेसम्म न्याय, मेलमिलाप र समाधानको बाटो खोज्न निरन्तर अग्रसर रहन्छिन् ।

यो बिन्दुसम्म पुग्न व्यक्तिगत र सामाजिक जीवनमा राजुदेवीले अनेक संघर्ष गरेकी छिन् । कथित पछाडी पारिएको,दलित समुदायकी महिला, त्यसमाथि एकल । समाजले बनाएका विभेदका पर्खाल र व्यक्तिगत जीवनका असंख्य संघर्ष पार गर्दै सामाजिक जिम्मेवारीसमेत काँधमा बोक्नु उनका लागि साँच्चै फलामको चिउरा चपाउनुजत्तिकै कठिन यात्रा थियो । तर राजुदेवीले कठिनाइलाई आफ्नो परिचय बन्न दिइनन् । बरु त्यही संघर्षलाई शक्ति बनाएर अघि बढिन् । एक महिलाको न्यायका लागि इलाका प्रहरी कार्यालय मालाखेतीमा भेटिएकी उनले भनिन् “आफ्ना आँसु लुकाउँदै अरूका आँसु पुछ्ने साहस बटुलेकी हुँ, जीवनलाई अर्थपूर्ण बनाउँदै बाँच्न अझै सिकिरहेकी छु ।”