
अत्तरिया – कैलालीको गोदावरी सुदूरपश्चिम प्रदेशको प्रस्तावित स्थायी राजधानी हो । जहाँ प्रदेशको प्रशासनिक केन्द्र बनाउने चर्चा वर्षौंदेखि चलिरहेको छ । तर यही गोदावरीका बासिन्दालाई भने दैनिक जीवनको सबैभन्दा आधारभूत आवश्यकता मानिने खानेपानीकै लागि सङ्घर्ष गर्नुपर्ने अवस्था छ । गोदावरीमा ७ वर्षदेखि होटल व्यवसाय गर्दै आइरहेका सुदीप पौडेलले आफूले खानेपानीको सङ्कट व्यहोर्दै आइरहेको बताए ।
वर्षायाममा जोखिम मोलेर गोदावरी नदीमा मोटर जडान गरेर घरायसी कामका लागि पानीको जोहो गर्दै आइरहेको उनले बताए । खानका लागि पनि विकट ठाउँजस्तो पैदल हिँडेर मुहानबाट बोकेर ल्याउनुपर्ने बाध्यता रहेको तर त्यहि पनि नियमित नहुँदा समस्या हुने गरेको उनको भनाई छ । खाजा खाने ग्राहकलाई दिन समेत पानी नहुँदा व्यवसायीहरु बढी प्रभावित भएको पौडेलले बताए ।

भाँडा धुने लगायतका काममा प्रयोग गर्न नदीमा मोटर जडान गरेर लिफटिङ्ग गरेको भन्दै उनले वर्षायामा अकस्मात् आउने बाढीले कहिलेकाहीँ मोटर नै बगाएर लैजाने गरेको बताए । “हरेक दिन बिहान नदीमा गएर मोटर जडान गर्ने र बेलुका लैजाने गरेका छौँ, उनले भने अहिले वर्षाको बेला कति बेला बाढी आउँछ थाहै हुँदैन डाँडातिर बादल लागे मोटर निकालिहाल्छौँ । कहिलेकाहीँ अकस्मात् आउने बाढीले आफैलाई बगाउने जोखिम छ ।”
गत चैत्र, वैशाखदेखि धारामा पानी नै नआएको उनले बताए । गोदावरी बजार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हर्कबहादुर देउवाले गोदावरीको काठे पुल नजिकै डिप बोरिङ गरेर निकालिएको पानीको सतह ७/८ महिनामै सुकेपछि थप समस्या सिर्जना भएको बताए । विद्युत् भोल्टेजका कारण समस्या निम्तिएको बताउँदै उनले ट्रान्सफर्मर फेर्न आफूहरूले सबै प्रक्रिया पुरा गर्दा पनि ठेकेदारले काम समयमा नगरिदिएको बताए ।
“विद्युत् भोल्टेजको समस्या देखिएकोले ट्रान्सफर्मर फेर्नुपर्ने थियो, समितिसँग बजेट थिएन, वनसँग सहयोग माग गरेर उनले वडा, नगर, विद्युत्, खानेपानी सबैतिर आवश्यक कागजपत्र बुझाएउँ, पैसा पनि बुझाएका थिएउँ तर ठेकेदारले लम्ब्यायो । अब एक दुई दिनमै बोरिङ सञ्चालनमा आउँछ ।” कहिले मुहान, कहिले इनारको पानी खाइरहेका आफूहरूका लागि बोरिङ सञ्चालनमा आए पनि यो दिगो समाधान भने नभएको उनको भनाई छ ।
गोदावरी बासीलाई सहजरुपमा खानेपानी उपलब्ध गराउन जनप्रतिनिधि लगायत सम्बन्धित निकायसँग उनले आग्रह गरे ।समाजसेवी बिराज विष्टले प्रस्तावित राजधानीकै नागरिकले सहजरुपमा खानेपानी नपाउनु लज्जास्पद भएको बताए । “यहाँका नागरिकले सधैँ खानेपानीको अभाव झेलिरहनुपरेको छ, उनले भने यस समस्यालाई सम्बन्धित निकायहरूले गम्भिररुपमा लिएर तुरुन्त समाधान गर्नुपर्दछ ।”














