
अत्तरिया – कैलालीको गौरीगंगा-१ चौमालाका नवीन थापा (२७) कुनै समय लागूऔषधको दलदलमा थिए । कक्षा ११ पढ्दा देखि नै लागूऔषध सेवन गर्न सुरु गरेका थापा अहिले ती सुनौला सात वर्ष खेर गएको महसुस बेलाबेला गर्छन् । उनलाई लागूऔषधको कुलत यति थियो की त्यसको जोहो गर्न उनले दैनिक जीवन नै अस्तव्यवस्त बनाएका थिए ।
आमाबुवाले विश्वास गरेर पढ्न घरबाहिर पठाएका उनी क्याम्पस नगएर लागूऔषधको खोजीमा दिनभर भौतारिने गर्थे । संगतबाट सुरु भएको कुलत बिस्तारै दैनिक आवश्यकताजस्तै बन्न पुग्यो । लागूऔषधको कुलतले उनको जीवन अस्तव्यस्त बनायो । पढाइ प्रभावित भयो, परिवारसँग दूरी बढ्यो र समाजमा उनको पहिचान पनि नकारात्मक बन्दै गयो ।

राती घरमा नजाने बरु घर नजिकैको होटलमा रात बिताउने गरेको उनी सम्झिन्छन् । “हुनत आफ्नो दैनिकीले सरकारी जागिरे बुवाको प्रतिष्ठामा आँच पुग्नेबारे पनि म जानकार थिए । तर आफूमाथिको नियन्त्रण गुमाइसकेपछि केहि नलाग्दो रहेछ । थापाले भने ।” प्रहरी हिरासतमा समेत बसेका उनी धेरैपटक कुलत छाड्ने प्रयास गरे पनि असफल भए ।
कुलतले उनलाई शारीरिक मात्र होइन, मानसिक रूपमा पनि थकित बनाएको थियो । “कहिलेकाँहि समयमा लागूऔषध नपाउँदा, भनेको कुराहरु परिवारले पुरा नगरिदिँदा वा परिवारले गरेको विश्वासमाथि आफूले गरेको घात सम्झिँदा आत्महत्याको सोच समेत आउने गथ्र्यो थापाले भने,तर आमाबुवाले म माथि आँखा चिम्लेर गरेको विश्वास नै मेरो शक्ति बन्थ्यो र म त्यो निर्णयबाट पछि हट्थे ।”
जहाँ इच्छा त्यहाँ उपाय भनेजस्तो सात वर्ष पूर्णरुपमा नशा सेवन गरेरै बिताए पनि नशाबाट निस्किन उनले सुधार केन्द्रको साहरा लिनु परेन । “अब म यि साथीहरुको संगत पनि गर्दिन भनेर अठोट गरे । अनि चटक्कै छोडिदिए, थापाले भने, सात दिन निकै गाह्रो भयो, भोक, प्यास, निन्द्रा केहि लागेन तीन हप्तापछि अलिअलि सामान्य हुँदैगए ।” लागूऔषध सेवन गरिरहेकै बेला उनले कक्षा ११/१२ पास गरे ।
ट्याटु आर्ट सिके आफूलाई जतिसक्दो नियन्त्रण गर्ने प्रयास गरे । ति दिनहरु निकै कठिन रहेको थापा सम्झन्छन् । साथीहरुको संगतमा परेर सात वर्ष पूर्णरुपमा लागूऔषधकै दलदलमा बिताए पनि थापाको जीवन आज नयाँ मोडमा पुगेको छ । उनको त्यहि भोगाई आज सिर्जनाको माध्यम बनेको छ । आफ्नो शरिरका विभिन्न अंगहरुमा पनि उनले जीवनसंग मेल खाने ट्याटुहरु हानेका छन् ।
नेपाली समाजमा ट्याटु बनाउने व्यक्तिलाई विगतमा नकारात्मक दृष्टिले हेर्ने प्रवृत्ति रहेको भए पनि अहिले धारणा परिवर्तन हुँदै गएको थापाको बुझाई छ । उनका अनुसार अधिकांश व्यक्तिहरूले ट्याटु केवल फेसनका लागि मात्र नभइ, आफ्नो व्यक्तिगत अनुभव, भावना, विश्वास, संस्कृति वा जीवनका विशेष क्षणलाई अभिव्यक्त गर्ने माध्यमका रूपमा बनाउने गर्छन् ।
थापाले अहिले ट्याटु आर्टिस्टका रूपमा आफ्नो पहिचान बनाइरहेका छन् । करिब दुई वर्ष भारतमा पनि ट्याटु आर्टिस्टकारुपमा काम गरिसकेका उनी अचेल कैलालीको अत्तरिया स्थित पहाड रोडमा रहेको बुद्ध जयन्ती ट्याटु हाउसबाट आफ्नो सिप बेचिरहेका छन् । ट्याटु हाउस उनकै दाईले सञ्चालनमा ल्याएका हुन् ।
अब आफ्नो यहि सिपलाई निखार्दै यहि व्यवसायलाई थप बिस्तार गर्ने योजना रहेको उनले बताए । पछिल्लो समय जानी नजानी धेरै व्यक्तिहरु लागूऔषधमा फस्दै गएको महसुस गरेका थापा भन्छन्,यो बाटोतिर लाग्दै नलाग्नुस यसले जीवनको दिशा नै मोडिदिन्छ । आत्मविश्वास, परिवारको साथ र निरन्तर प्रयासले जीवनलाई नयाँ दिशामा डोर्याउन सकिने थापाको बुझाई छ ।















