यी प्रदेशमा भारी वर्षाको सम्भावना

Image
maya metro

काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तर नेपालनजिक छ।

nisarga

अहिले देशभर साधारणतया बादल लागेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ। कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा समेत मध्यमसम्मको पानी परिरहेको महाशाखाले जनाएको छ।

सोमबार देशभर साधारणतया बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू-भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

यसैगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका धेरै स्थानमा पानी पर्नेछ। मधेस प्रदेशसहित कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षा हुने अनुमान छ।

महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा भने धेरै भारी वर्षा हुन सक्नेछ।