
कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज लगायतका क्षेत्रमा शनिबारदेखि जलपक्षी गणना सुरुआत गरिएको छ । निकुञ्जभित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो ।
गणना अगामी माघ २ गतेसम्म जारी रहने छ । यसका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधि लगायतको सहभागिता छ । गणनामा संलग्नले वाइनाकुलर, टेलिस्कोप, क्यामेरा लगायतको प्रयोग गरिएको सङ्घका चराविज्ञ हिरुलाल डगौराले जानकारी दिए।

स्थलगतरूपमा पुगेर र कुनै ठाउँमा डुङ्गा लगायतमा चढेरसमेत जलपक्षी गणना हुने उनले बताए । उनका अनुसार रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा जलपक्षी गणना हुने छ । अरु ताल र नदीमा पैदल हिँडेरै गणना हुने भए पनि निकुञ्जभित्रको सलगौँडी तालमा भने हात्तीमा चढेर गणना हुने छ ।
गत वर्षको गणनामा निकुञ्ज र बाह्य क्षेत्रका तालतलैयामा जलपक्षी गणनाका क्रममा विश्वकै दुर्लभ सारस, भुडिफोर गरुड, कैले टाउके हाँसलगायत ४८ प्रजाति देखापरेका थिए । तालतलैयामा जलपक्षीको सङ्ख्या यकिन गर्ने कार्यसँगै सीमसारको अवस्थाबारेमा समेत अध्ययन हुने विज्ञ डगौराले बताए ।
















