सर्भर डाउन हुँदा ६५ करोड रुपियाँ भुक्तानी रोकियो

Image
maya metro

धनगढी – सुदूरश्चिम प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको सिस्टम एक दिन बन्द हुँदा ६५ करोड रुपियाँ भुक्तानी रोकिएको छ । असार २४ गते ‘सीएस सिस्टम’ बन्द भएपछि सुदूरपश्चिम प्रदेशका विकासे मन्त्रालयको भुक्तानी रोकिएको हो ।

नेपाल सरकारको आर्थिक नियमावलीअनुसार आर्थिक वर्ष २०७८–७९ को भुक्तानी असार २५ गतेसम्म गर्ने व्यवस्था थियो । तर असार २४ गते सिस्टम बन्द भएपछि भुक्तानी गर्न नसकिएको प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख वासुदेव जोशीले जानकारी दिए।

nisarga

उनका अनुसार २४ गते बन्द भएको सीएस सिस्टम असार २५ गते भने ‘स्लो’ भएको थियो । सिस्टममा आएको समस्याका कारण ६५ करोड रुपियाँभन्दा बढी भुक्तानी हुन नसकेको प्रमुख जोशीले बताए ।

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका भुक्तानी हुन नसकेको जनाइएको छ । भुक्तानी हुन नसकेको सबैभन्दा बढी रकम भौतिक पूर्वाधार विकास मन्त्रालयको रहेको छ ।

प्रदेश कोष तथा लेखा नियन्त्रक कार्यालयको ‘सर्भर डाउन’ का कारण निर्माण सम्पन्न भइसकेका कतिपय योजनाको भुक्तानी पनि रोकिएको जनाइएको छ । प्राविधिक समस्याका कारण चालू आर्थिक वर्षमा भुक्तानी हुन रोकिएको रकम भुक्तानीका लागि अर्को नियम पनि रहेको प्रदेश कोलेनिकाले जानकारी दिएको छ ।

रोकिएको रकम भुक्तानी अब अर्को आर्थिक वर्षमा हुने जनाइएको छ ।