परशुरामधामलाई पर्यटकीय स्थल बनाइने

Image
maya metro

डडेल्धुरा – नेपालका चार धाममध्ये एक मानिने महाकाली नदी किनारस्थित परशुरामधाममा परशुरामको ५४ फिट अग्लो मूर्ति स्थापना गरिएको छ।

परशुरामधामको गुरुयोजना बनाएर विकास गरिन थालिएको छ। गुरु योजनाअनुसार मूर्ति बनाइएको परशुराम नगरपालिकाका प्रमुख भरत बडायर जोशीले बताएका छन् ।

nisarga

परशुराम नगरपालिका–५, परीगाउँको महाकाली नदी किनारमा धाम छ। धाममा गुरुयोजनाअनुसार भौतिक पूर्वाधारको निर्माणको काम भइरहेको उनले बताए ।

धाममा गुरुयोजनाको पहिलो चरणमा धर्मशाला, शौचालय, सडक कालोपत्रे, बाटो, गेट, विभिन्न देवीदेवताका मठमन्दिर बनाउने काम भइरहेको छ।

परशुरामधाममा पूर्वाधार निर्माणका लागि ८० करोड रुपियाँ बराबरको गुरुयोजना बनाइएको थियो। पहिलो चरणअन्तर्गत सहरी विकास मन्त्रालयको २० करोड रुपियाँको लागतमा भौतिक पूर्वाधार निर्माणको काम भइरहेको छ। भौतिक पूर्वाधार बनाउनुका साथै प्रचारप्रसारलाई पनि पहिलो प्राथमिकतामा राखेर काम गरिने नगरपालिकाले योजना बनाएको छ।

हिन्दु मान्यताअनुसार भगवान् विष्णुका दस अवतारमध्ये परशुराम छैटौँ अवतार भएको विश्वास छ। सप्त ऋषिमध्येका एक जमदग्नीका छोरा परशुराम भएको मानिन्छ। उहाँले शिवको तपस्या गर्नुभयो। भगवान् खुसी भएर बन्चरो उपहार दिएको किंवदन्ती छ। त्यसैले परशुरामलाई बन्चरो बोक्ने राम पनि भनिन्छ ।

डडेल्धुराको विष्णुपुरमा तपस्या गरेर परशुराम चिरञ्जीवी बन्नु विश्वास गरिन्छ। त्यहाँ उहाँले भीष्मपितामह, द्रोणाचार्य र कर्णलाई धनुर्विद्या सिकाएका थिए। भगवान् रामले पनि त्यहीँ समाधि लिएको विश्वास गरिन्छ।

महाकाली किनारको बामघाट बनारससरह पवित्र मानिन्छ। परशुरामधाममा माघ १ गते मेला लाग्छ। भक्तजन कल्पवास बस्नुहुन्छ। त्यसबाहेक साउने सोमबार, अक्षय तृतीया र शिवरात्रि, ग्रहणका बेला मेला लाग्छ।

परशुराम क्षेत्रमा देउरा राख्ने घर छन्। देउरा भनेका चल देवता हुन्। मकर सङ्क्रान्ति र सूर्यग्रहण लागेका बेला डडेल्धुराका १६ वटा शिवालयका देउरा लगिन्छ। देउरालाई स्नान गराइन्छ। खिट्केश्वर, भागेश्वर, असिग्राम, वैद्यनाथलगायतका देउरा लगिन्छ। देउराहरू स्नान गर्ने अलग–अलग घाट छन्। देउरालाई देवघाटमा सामूहिक स्नान गराइन्छ।