
महेन्द्रनगर – कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३, बैबाह बस्ने रामलाल चौधरीको दैनिकी प्रायः माटोसँगै खेलेर सुरु हुन्छ । विगत १३ वर्षदेखि उनी व्यावसायिक तरकारी खेती गरीरहेका छन् । किसानको छोरा भए पनि जग्गा कम भएका र आर्थिक रूपमा कमजोर रामलालको अहिले गाउँमै राम्रो कमाइ हुनुका साथै जीवनस्तरमा समेत परिवर्तन आएको छ ।
डेढ बिघा जग्गामा तरकारी खेतीसँगै धान र मकैसमेत लगाउने गरेका उनले खर्च काटेर सरदर १० लाख वार्षिक आम्दानी गर्दै आएका छन् । उनले करेला, काउली, टमाटर, बन्दगोभी, खुर्सानी तथा तरकारी नहुने सिजनमा मकै र धान खेती गर्दै आएका छन् ।

घरमा खानका लागि तरकारी खेती लगाइराख्ने किसानले व्यावसायिक तरकारी खेती गर्ने निर्णय गरे । सुरुवातमा गाउँका १५ जना किसान मिलेर प्रत्येकले चार/चार कट्ठा जग्गामा खेती सुरुवात गरेका थिए । तीमध्ये चाररपाँच जनाले भने यो पेसा नै बनाए । जसमध्ये सबैभन्दा बढी जग्गामा खेती गर्ने व्यक्ति हुन्हुन्छ रामलाल ।
चार कट्ठा जग्गाबाट सुरु गरिएको खेतीलाई उनले बढाँउदै लगे । उनी भन्छन् , “चार कट्ठाबाट बढाउँदै अहिले घर छोडेर सबै जग्गामा तरकारी खेती सुरु गरेको हुँ । पछिल्लो चार वर्षयता वार्षिक करिब १३ लाख कमाउने गरेको छु । तीन लाखजति खर्च हुन्छ, बढीजसो घरकै मान्छे काम गर्छौं ।” दुई छोराले आंशिक रूपमा र श्रीमती चम्फादेवीले पूर्ण रूपमा सघाउँदै आएका छन् ।
सुरुमा आफूले साइकलमा गाउँमा घुमेर उत्पादित तरकारी बेच्ने गरेको उनी बताँउछन् । “तीन वर्षजति तरकारी साइकलमा बेलडाँडी गाउँपालिका र बेलौरी नगरपालिकामै घुमेर बेचेपछि मोटरसाइकलमा पनि गाउँतिर नै बेच्थेँ,” उनले भने, “जब चार वर्षपहिला एक बिघामा लगाउन सुरु गरेँ, गाउँ वा खेतबाट खपत नहुने भएपछि भारत नजिक भए पनि त्यहाँ दररेट नपाइने हुँदा महेन्द्रनगरको मण्डीमा लग्ने गरेको छु ।”
४० वर्षीय रामलाल यस वर्ष अहिलेसम्म सबै मिलाएर चार सय क्विन्टल बढी तरकारी बेचिसकेको बताउनुहुन्छ । “अहिलेसम्म चार सय क्विन्टल बेचिसकेको छु, अहिले टमाटर, करेला र मकै मात्रै खेतमा छ,” उनले भने, “मैले मल पनि अर्गानिक नै प्रयोग गर्छु, जसले गर्दा उत्पादन पनि राम्रो हुन्छ ।”
रामलालसँग अहिले एक पावर ट्रिलर, एक मिनी ट्रिलर, एक मोटरसाइकल र एक तरकारी बोक्ने ठूलो अटोरिक्सा छ । उहाँले गत दुई आर्थिक वर्षमा कृषि ज्ञान केन्द्र महेन्द्रनगरबाट पावर ट्रिलरमा ९३ हजार र पावर ट्रिलरमा ४५ हजार रुपियाँ अनुदान पाउनुभएको छ । सो रकम पर्ने मूल्यको ५० प्रतिशत हो । यस आव २०७९/८० मा भने ग्रिनेटमा ५० हजार अनुदान पाएको उनले बताए ।
रामलालले अब केरा खेती पनि सुरु गर्ने सोच बनाएको बताए । उनले भने, “जग्गा भाडामा लिएर भए पनि अब केरा खेती पनि सुरु गर्छु, चार कट्ठाबाट सुरु गर्ने सोच बनाएको छु ।”
उनी लगायत बेलडाँडी गाउँपालिका–३ कै कालुराम चौधरी, देशुराम चौधरी, रामकुमार चौधरी र छोटेलाल चौधरीले पनि आठ/दस कट्ठा जग्गामा तरकारी खेती गरीरहेका छन् । आफूहरू व्यवसायबाट सन्तुष्ट रहेको उनीहरूको भनाइ छ । “धेरै गर्न सकेका छैनौँ, खर्च कटाएर वार्षिक तीन लाखजति बच्छ, सन्तुष्ट छौँ,” देशुरामले भने, “विदेश जानुभन्दा आफ्नो देशमै काम गरेर सम्मानसाथ परिवारसँग बस्न पाइएको छ ।”
















