कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै

Image
maya metro

कैलाली – कैलालीमा पछिल्लो तीन वर्षयता साना तथा घरेलु उद्योग दर्ता हुने क्रम घट्दै गएको छ । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रिया, भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्नुलगायत कारणले उद्योग दर्ता हुने क्रम घट्दै गएको हो । हालसम्म कैलालीमा साना तथा घरेलु उद्योग दर्ताको सङ्ख्या १५ हजार ९१ पुगेको छ ।

जिल्लामा दर्ता भएका उद्योगमा उत्पादनमूलक, कृषिमूलक, निर्माणमूलक, पर्यटनमूलक, सूचना प्रविधि र सेवामूलक गरी सो सङ्ख्यामा उद्योग रहेका छन् । बर्सेनि उद्योग नवीकरण भइरहे पनि अधिकांश उद्योग सञ्चालनमा आउन भने सकेका छैनन् । कञ्चा पदार्थको अभाव, आर्थिक मन्दी, झन्झटिलो कानुनी प्रक्रियालगायतका कारणले जिल्लाभित्र दर्ता भएका उद्योग सञ्चालन गर्न कठिनाइ हुने गरेको उद्योग सञ्चालकको गुनासो छ । साना तथा घरेलु उद्योग कार्यालय धनगढीका प्रमुख कोमलप्रसाद ओझाका अनुसार आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार नौ सय ६८, आव २०७८÷७९ मा दुई हजार चार सय ३७ र आव २०७९÷८० मा एक हजार एक सय ९७ वटा उद्योग गर्दा भएका छन् ।

nisarga

दर्ता भएका उद्योगमध्ये पछिल्लो तीन वर्षयता पाँच सय ४७ उद्योग बन्द भएका छन् । साना तथा घरेलु उद्योग कार्यालय धनगढीले दिएको जानकारीअनुसार आव २०७७÷७८ मा एक सय ४०, आव २०७८÷७९ मा एक सय ७५ तथा आव २०७९÷८० मा दुई सय ३२ उद्योग बन्द भएका छन् । कोभिड–१९ को महामारीपछि आर्थिक मन्दी, कच्चा पदार्थको अभावलगायतका कारण देखाएर उद्योग बन्द गरिन थालिएको बन्द हुनेमा अधिकांश उत्पादनमूलक, कृषिमूलक, सेवामूलक, पर्यटनमूलक उद्योग रहेका छन् ।

उद्योग दर्ता खारेजी फारममा प्रायः उद्योग बन्द गर्नुपरेको कारणमा आर्थिक मन्दीले चलाउन नसकिएको, उद्योग सञ्चालन गर्न नसकेका कारण विदेश गइरहेको, उद्योगका लागि कच्चा पदार्थ अभावलगायतका कारण देखाइने गरिएको कार्यालय प्रमुख ओझाको भनाइ छ ।

कोभिडपछि आर्थिक मन्दी आएको र बैंकले ऋण लगानी नगरेपछि जिल्लामा उद्योग खुल्ने क्रम घटेको जनाइएको छ ।