पुनः श्रम स्वीकृति अब पालिकाबाटै लिन सकिने

Image
maya metro

अत्तरिया – वैदेशिक रोजगारीकोलागि आवश्यक पर्ने पुनः श्रम स्वीकृति अब पालिकाबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगारीको गएर फर्किसकेका पुनः जान ईच्छुक व्यक्तिहरुले हाल सम्म काठमाडौ तथा श्रम कार्यालय धनगढीबाट पुनः श्रम स्विकृती लिनुपर्ने बाध्यता थियो ।

पुनः श्रम स्विकृती अब पालिका स्थित रोजगार सेवा केन्द्रबाट दिन सुरु गरिएको कैलालीको गोदावरी नगरपालिकाले जनाएको छ । सोहि बमोजिम नगरपालिकाले मंगलबार एकजनालाई पुनःश्रम स्वीकृति प्रदान गरेको छ । गोदावरी नगरपालिका वडा नं ६ भुयराका महानन्द जोशीलाइ मिति मंगलबार नगर प्रमुख बिरेन्द्र भट्टले पुनः श्रम स्विकृतिको प्रमाणपत्र प्रदान गरेका हुन् । पुनः श्रम स्विकृतिको कार्य वैशाखबाटै सुरु हुनुपर्ने भएपनि विविध कारणबस गोदावरी नगरपालिकाले उत्त कार्य गर्न सकेको थिएन् ।

nisarga

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्ट, रोजगार संयोजक रोहित प्रसाद जोशी लगाएतको उपस्थिति रहेको थियो । कार्यक्रममा रोजगार संयोजक जोशीले रोजगार सेवा केन्द्र मार्फत पुनः श्रम स्विकृती प्रदान गर्न सकिएकोमा खुशी व्यक्त गरे ।

उनले आगामी दिनमा आन्तरिक तथा वैदेशिक रोजगारी सम्बन्धी सूचना, परामर्श, वैदेशिक रोजगार बोर्डको सचिवालयबाट प्रदान गरिने बिरामी÷अंगभंग÷राहत÷उद्दार लगाएतका कल्याणकारी सेवा, व्यक्तिगत तथा पुनः श्रम स्विकृति लगाएतका सेवाहरु रोजगार सेवा केन्द्रबाट प्रभावकारी रुपमा सञ्चालन हुने बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिदत्त भट्टज्यूले आन्तरिक तथा वैदेशिक रोजगारी सम्बन्धी सेवा पालिका स्थित रोजगार सेवा केन्द्रबाट प्रवाह भइरहेको तर सो को जानकारी समुदाय स्तरमा अझै बढाउनु पर्ने भएकाले सूचना जानकारी प्रशारणका लागि सम्बन्धित सरोकारवाला पक्षहरुसंग समन्वय गर्न आवश्यक रहेको बताए ।

सेवाग्राहीलाइ पुनः श्रम स्विकृतीको प्रमाण पत्र प्रदान गर्दैै नगर प्रमुख भट्टले पालिका भित्रका जनताहरुले आन्तरिक तथा वैदेशिक रोजगारीकालागि आवश्यक जानकारी, सूचना, परामर्श लगाएतका सेवा सुविधाहरु पालिकाबाटै प्रदान गर्ने कार्य सुरु भएको हुँदा सेवाग्राहिलाई फाईदा पुग्ने बताए ।