
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ८ मा रहेको हरिनगर खानेपानी आयोजना उद्धघाटनपश्चात समुदायलाई हस्तान्तरण गरिएको छ ।
सोमबार एक कार्यक्रमकाबिच आयोजनाको सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाश बहादुर बमले उद्धघाटन गरेका हुन् । उद्धघाटनपछि खानेपानी तथा सरसफाई खानेपानी डिभिजन कार्यालय कैलालीका प्राविधिक गणेशप्रसाद भट्टले आयोजनाका अध्यक्ष नरेश बहादुर अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा बोल्दै राज्यमन्त्रि बमले स्वच्छ खानेपानी नागरिकको आधारभूत अधिकार भएको बताए । नागरिकका आधारभूत आवश्यकता पुरा गर्न प्रदेश सरकार गम्भिर रुपमा लागिरहेको उनले बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै भट्टले आयोजनाको संरक्षण र दिगोपनाको जिम्मेवारी समुदायको हुने बताए । उनले डिभिजन खानेपानीले आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए ।
आयोजना अध्यक्ष अधिकारीले कार्यालयमा जेनेरेटर आवश्यक रहेको बताए । विद्युत आपुर्ती नभएमा खानेपानी पनि बन्द गर्नुपर्ने अवस्था रहेको भन्दै उनले बिलिङ काउन्टर र पालेका लागि आवास सुविधा पनि निर्माण गर्नुपर्ने बताए ।
२०७५ सालदेखि निर्माण सुरु भएको हरिनगर खानेपानी आयोजनाले २०८० चैत्रदेखि खानेपानी वितरण सुरु गरेको थियो ।
झण्डै ७ करोड लागतमा निर्माण गरिएको उक्त आयोजनाले स्याउले, खुटिया, मजगाँउ, सिसैया, जोनापुरलगायतका क्षेत्रमा ६२४ घरधुरीलाई खानेपानी वितरण गर्दै आइरहेको छ ।
उद्धघाटन तथा हस्तान्तरण कार्यक्रममा आयोजनाका वर्तमान तथा पूर्व निर्माण समितिका पदाधीकारीहरु, सरसफाई तथा खानेपानी डिभिजन कार्यालय कैलालीका प्रतिनिधि, विभिन्न संघ संस्थाका प्रतिनिधि तथा उपभोक्ताहरुको उपस्थिति रहेको थियो । संस्थाका उपाध्यक्ष केशवराज विनाडी स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव चेतराज ओझाले गरेका थिए ।















