
दार्चुला – दार्चुलामा ढुङ्गा लागेर प्रहरी जवान गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी छत्रबहादुर रावतले जिल्लाको महाकाली नगरपालिका–६ निसिल घर भई काठमाडौँमा कार्यरत २७ वर्षीय प्रहरी जवान दीपेन्द्र पालको टाउकोमा ढुङ्गा लाग्दा गम्भीर घाइते भएको जानकारी दिए ।
घर बिदामा रहेका बेला मङ्गलबार बिहान थागिल भन्ने स्थानमा खर काट्न गएको बेला माथिबाट खसेको ढुङ्गा टाउकोमा लागेपछि दीपेन्द्र घाइते भएको स्थानीय योगेशबहादुर पालले जानकारी दिए ।

घाइते प्रहरी जवान पाललाई जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ । घाइते प्रहरी जवानको स्वास्थ्य अवस्था बुझ्न दार्चुलाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश दाहाल जिल्ला अस्पताल पुगेका थिए ।















