
अत्तरिया – कैलालीमा लागूऔषधसहित ७११ जना पक्राउ परेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा कैलालीमा लागूऔषधसहित ७११ जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
पक्राउ पर्नेमा ४० जना महिला र ६७१ जना पुरुष रहेका छन् । आर्थिक वर्ष २०८०/८१ मा २२ महिला र ४२५ पुरुष गरी ४४७ जना पक्राउ परेकोमा आथिर्क वर्ष २०८१/८२ मा उक्त सङ्ख्या बढेर ७११ जना पुगेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक एवम् सूचना अधिकारी राजकुमार सिंहका अनुसार ७११ जना माथि ४६९ वटा मुद्दा दर्ता गरिएको छ । पक्राउ पर्नेमा सबैभन्दा बढी खैरो हिरोइन प्रयोगकर्ता रहेको सिंह बताउँछन् । कतिपय प्रयोगकर्ता दोहोरिएर समेत आउने गरेको उनको भनाई छ ।
१५ देखि २५ वर्ष उमेर समूहका धेरै
पक्राउ पर्नेमा १५ देखि २५ वर्ष उमेर समूहका धेरै रहेको तथ्याङ्कले देखाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा पक्राउ परेका ७११ जना मध्य ४४२ जना १५ देखि २५ वर्ष उमेर समूहका रहेका छन् । त्यस्तै २२५ जना २६ देखि ३५ वर्ष उमेर समूहका छन् भने ४४ जना ३६ वर्ष भन्दा माथिका रहेका छन् ।
इप्रका मालाखेतीबाट ८७ जना पक्राउ
लागूऔषधमा ८७ जना इलाका प्रहरी कार्यालय मालाखेती (इप्रका मालाखेती) मार्फत पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक रण बहादुर चन्दका अनुसार पक्राउ परेका ७११ जना मध्य ८३ जना पुरुष र ४ जना महिला इप्रका मालाखेती मार्फत पक्राउ परेका हुन् ।















