
अत्तरिया – पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका क्षेत्रमा गत असारमा गरिएको सडकको कालोपत्रे उप्किएको छ । गोदावरी नगरपालिका वडा नम्बर- ६ स्थित लालपुर र ८ स्थित स्याउलेमा गत असारमा गरिएको कालोपत्रे उप्किएको हो । कालोपत्रे उप्किँदा दुई ठाउँमा गरि करिब ४ सय मिटर उक्त सडकमा खाल्डुखुल्डी बनेका छन् ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश कमार यादवले क्षति भएको ठाउँमा मर्मत गर्न ठेकेदारलाई निर्देशन दिइसकेको बताए । ठेक्काको भुक्तानी पनि पूर्ण भइनसकेको हुँदा मर्मत गरेपछि मात्रै बाँकी भुक्तानी गरिने उनले बताए । वर्षायाममा सडक कालोपत्रे गदौ अधिकाशं ठाउँमा डिफेक्ट (त्रुटी) हुने यादको भनाई छ ।


“कालोपत्रे गरिएको सडकलाई सुक्न समय लाग्छ, वर्षाको समयमा पानी परिरहेको हुन्छ, सुक्न पर्याप्त समय पाउँदैन । त्यसैले पनि यस्तो डिफेक्टहरु धेरै ठाउँमा आइरहेको हुन्छ । त्यसलाई सोहि ठेकेदारले नै मर्मत गर्नुपर्ने हुन्छ, यादवले भने ।” गोदावरीको अत्तरियादेखि स्याउलेसम्म तीन ठाउँमा गत असारमा कालोपत्रे गरिएको थियो ।
मुख्य राजमार्ग अन्तरगत अत्तरियादेखि पहलमानपुरसम्म पूर्णरुपमा क्षति भएको ठाउँमा पुनःह कालोपत्रे गर्न सडक डिभिजन कार्यालयले ठेक्का लगाएको थियो । सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर चित्र चौलागाईका अनुसार असार मसान्तसम्म काम सम्पन्न गर्ने गरि जोशी श्रीपुर जेभीले गत मंसिरमा ठेक्का पाएको थियो ।

अत्तरियादेखि पहलमानपुरसम्म विभिन्न खण्डमा गरि दुई हजार तीन सय मिटर कालोपत्रे गर्न मूल्य अभिवृद्धी करसहित २ करोड ८४ लाखमा ठेक्का भएको थियो । तर सम्झौता बमोजिम काम भने सम्पन्न नभएको डिभिजनले जनाएको छ ।















