खुटिया नदीका जोखिमयुक्त स्थानमा सूचना बोर्ड टाँसियो

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर- ९ स्थित खुटिया नदीका जोखिमयुक्त स्थानमा सूचनामूलक बोर्ड टाँसिएको छ । गोदावरी नगरपालिका वडा नम्बर- ९ को कार्यालयले बिहीबार जोखिमयुक्त स्थलमा सूचनामूलक बोर्ड टाँसेको हो । नदी गहिरो भएकोले पौडी खेल्न र तर्न सख्त मनाही छ लेखिएको सूचना बोर्ड जोखिमयुक्त स्थानहरूमा टाँसिएको हो ।

सेहरीका भलमन्सालगायत सामाजिक अगुवाहरूको सहभागितामा नदीको अरू भागको तुलनामा गहिरो रहेको सेहरी गाउँको छेउमा र झोलुङ्गे पुल नजिक वडा कार्यालयले सूचनामूलक बोर्ड टाँसेको हो । गोदावरी- ९ का वडा अध्यक्ष रामलाल रानाले नदीमा बर्सेनि हुने दुर्घटना कम गर्ने उदेश्यले जोखिमयुक्त स्थलमा सूचना बोर्ड टाँसिएको बताए ।

nisarga

गत भदौ १२ गते एकैसाथ ४ किशोर गुमाउँदा आफूसहित- ९ नम्बर वडा बासी स्तब्ध भएको बताउँदै उनले आमाबुवाले पनि नदी क्षेत्रमा नजानका लागि बालबालिकालाई सचेत गराउनु पर्ने बताए । आज दुई स्थानमा सूचना बोर्ड टाँसिए पनि अझै अरू ठाउँमा पनि जोखिम रहेकोले जानकारीसहितको सूचना बोर्डका लागि निजी निकायहरूसँग समन्वय भइरहेको रानाले बताए ।

त्यस्तै वडा सदस्य उद्धव भट्टराईले नदीको गहिराइको बारेमा जानकारी नहुँदा पनि प्राय व्यक्तिहरू नदीमा नुहाउन वा तर्न जाने भएकोले सूचना बोर्ड टाँस गरिएको बताए । राम्रोसँग पौडी खेल्न नजान्ने व्यक्तिले नदीमा पस्न नहुने भन्दै उनले नदी क्षेत्रमा हुने दुर्घटनाका बारेमा विद्यालयमा पनि बालबालिकाहरूलाई सचेत गराउनुपर्ने बताए ।

सेहरीका भलमन्सा चन्द्र बहादुर चौधरीले खुटियामा बर्सेनि मानिस गुमाउनु परिरहेको बताए । ज्यान गुमाउनेमा अधिकांश बालबालिका र किशोरहरु रहने गरेको भन्दै उनले अभिभावकहरूलाई आग्रह गरे । सो क्षेत्रमा लक्ष्मी महिला सामुदायिक वन र स्थानीयले पनि केही दिन अगाडि सूचना बोर्ड टाँसेका छन् ।

गत भदौ १२ गते मात्रै धनगढीका ४ किशोरहरूको खुटिया नदीमा डुबेर मृत्यु भएको थियो भने भदौ २ गते गोदावरीका एक बालकको खुटियामै डुबेरै मृत्यु भएको थियो । केही ठाउँमा मात्रै गहिरो भाग रहेको खुटियामा डुबेर बर्सेनि थुप्रै मानिसले अकालमा ज्यान गुमाउने गरेका छन् ।