जापान उड्ने मिति कुर्दाकुर्दै जेनजीको आन्दोलनमै अस्ताए बझाङका सुवास

Image
maya metro

बझाङ – काठमाडौँमा जारी जेनजी आन्दोलनमा बझाङका एक युवाको ज्यान गएको छ । खप्तडछान्ना गाउँपालिका–७ गोरखालीका २३ वर्षीय सुवास बोहरा संसद भवन अगाडिको प्रदर्शनस्थल नजिकै सोमबार दिउँसो गोली लागी निधन भएका हुन्। हाल उनको शव काठमाडौँ मेडिकल कलेज (केएमसी) सिनामंगलमा राखिएको प्रहरीले जनाएको छ।

एलएलबीमा प्लस–टुसम्म अध्ययन पूरा गरी जापानी भाषा सिक्न काठमाडौँ आएका सुवास केही दिनमै जापान जान तयारी अवस्थामा रहेका थिए। तर आर्थिक अभावका कारण अन्तिम तयारीमा समेत कठिनाइ झेलिरहेका उनले जापान उड्नुअघि नै ज्यान गुमाउनुपर्यो।

nisarga

उनका आफन्त प्रदिप खड्काका अनुसार सुवास केही समयमै जापान उड्ने तयारीमा थिए। तर रकम जुटाउन नसक्दा उनले निकै संघर्ष गरिरहेका थिए।

सुवासकी आमा कैली बोहरा भारतमा मजदुरी गर्दै औषधि उपचार गराइरहेकी छन् भने उनका पिता केही समयदेखि सम्पर्कविहीन छन्। घरको आर्थिक अभावबीच सुवासले आफ्ना भाइलाई यसै वर्ष बैशाखमा कक्षा ९ को अध्ययनका लागि काठमाडौँ पठाएका थिए। आमाबाबुको जिम्मेवारी बोकेर संघर्षरत सुवास परिवारकै आधार बनेका थिए। उनको निधनले परिवार शोकसागरमा डुबेको छ।