
कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले दिगो वन व्यवस्थापनका विषयमा सरोकारवालाहरूसँगको छलफल र परामर्शमार्फत अगाडि बढ्ने बताएका छन् ।
वन व्यवस्थापनका सवाल सम्बोधन गर्न गठित कार्यदलले सुझावसहित बुझाएको प्रतिवेदन बुझ्दै उनले मुलुक तथा प्रदेशका विद्यमान नियम, कानुन र कार्यक्षेत्रभित्र रही प्रतिवेदनमा समेटिएका सुझावलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।

उनले वन क्षेत्रको काठ दाउरा बिक्री वितरण पारदर्शिता र प्रभावकारीका लागि ‘ई–विडिङ’ माध्यमबाट लैजानुपर्ने बताए । मुख्यमन्त्री शाहले वन क्षेत्र सुधारका लागि आवश्यक बजेटको व्यवस्थापन प्रदेश सरकारले गर्ने र यस प्रक्रियामा सबैका सुझाव, प्रतिक्रिया तथा सहकार्य अपरिहार्य रहेको बताए ।















