
डडेल्धुरा – देवताले आफ्नो शक्ति प्रदर्शन गर्ने क्रममा धामी कापेर बालुवा खाने प्रसिद्ध तथा शक्तिशाली मानिने घटाल बाबाको विशु जाँत (मेला) आज बुधबार वैशाख २ गते लाग्दै छ । भीम र हिडिम्बाका पुत्र घटोत्कचको विधिवत् पूजाआजा हुने घटालथानमा प्रत्येक नयाँ वर्षको वैशाख २ गते मेला (जाँत) लाग्ने परम्परा रहिआएको छ ।
घटाल बाबाको पूजाआजासँगै लाग्ने विशु जाँतमा पूजाआजापछि घटाल बाबाका धामी कापेर बालुवा खाने गर्छन् । घटाल बाबा एवं घटोत्कचको शक्ति प्रदर्शनका रूपमा देवताका धामीले बालुवा खाने गरेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले बताए ।

उनका अनुसार घटालको देउरो (आभूषणसहितको डोली, शंख, घण्टा, नेजाध्वजा) महाकाली नदीस्थित परशुराम धाममा स्नान गराइन्छ । पहिले घटालका धामीले सात सुप्पा (करिब डेढ क्विन्टल) बालुवा खाने भएकाले जोगबुडा स्थित रंगुन खोला किनारको एक स्थानलाई ‘सात सुप्पे’ नामकरण गरिएको उनले बताए । अहिले पनि देवताका धामी कापेर थोरै भए पनि बालुवा खाने दृश्य हेर्न पाइने उनको भनाइ छ ।
घटालथान मसान क्षेत्र भएकाले यसको ठूलो धार्मिक महिमा रहेको बताइन्छ । अन्तिम संस्कारपछि घटालथानमा थरिने चलन रहेकाले यस क्षेत्रका स्थानीयको आस्था घटाल देवताप्रति बढी रहेको उनी बताउँछन् । भाकल गरेअनुसार मनोकामना पूरा हुने विश्वासका कारण घटालथानमा स्थानीयको घुइँचो लाग्ने गरेको उनको भनाइ छ ।
अमरगढी नगरपालिका–३, डोटी खोलामा रहेको घटालथान क्षेत्रमा छवटा मन्दिर रहेको जानकारी पनि उनले दिए । घटाललाई असिग्राम देवताको द्वारपालका रूपमा लिइन्छ । उनले भने, “घटालका चारवटा द्वारपाल डुणेश्वर देवताका मन्दिर यस क्षेत्रका चार स्थानमा रहेका छन् । डुणेश्वर देवता घटालका आन–बान हुन् ।” घटाल देवताका धामीसँगै द्वारपाल डुणेश्वर र मसानीका धामीले समेत बालुवा खाने गर्छन् ।
किंवदन्तीअनुसार डोट्याली राजा नागी मल्लकी पुत्रविहीन रानीले भारतको गढवालबाट घटाल देवता दाइजोमा ल्याएकी थिइन् । तर देवतालाई अहिले मन्दिर रहेको स्थानबाट दरबारसम्म लैजान नसकिएपछि त्यहीँ नै घटालबाबा स्थापना गरिएको हो ।
पश्चिमी क्षेत्रमा आस्तिकहरू माझ घटालबाबाले मनोकामना पूरा गरिदिने जनविश्वास रहँदै आएको छ । विशु जाँतको एक दिनअघि चम्सालस्थित देवघरबाट देउताको देउरो घटालस्थान पु¥याइने वडा नं. ३ का अध्यक्ष तीर्थ ऐरले बताए ।
विशु जाँतका बेला आफ्नो थातथलो छोडेर टाढा पुगेकाहरू पनि एकै दिनका लागि भए पनि घर फर्कने गरेको उनले बताए ।
द्वापरयुगमा कुरुक्षेत्रमा भएको कौरव–पाण्डवबीचको धर्मयुद्धमा भीमपुत्र घटोत्कचले ठूलो पराक्रम प्रदर्शन गरेको धार्मिक ग्रन्थहरूमा उल्लेख पाइन्छ । घटोत्कचले कौरव सेनामाथि धावा बोलेर ठूलो क्षति पुर्याएको पनि धार्मिक ग्रन्थहरूमा वर्णन गरिएको छ ।
लडाइँ मैदानमै वीरगति प्राप्त गरेका घटोत्कचको पराक्रम देखेर श्रीकृष्णले उनलाई कलियुगमा ख्यातिप्राप्त भगवान्का रूपमा मान्यता पाउने वरदान दिएको परापूर्वकालदेखिको भनाइ छ । यही मान्यताअनुसार सदियौँदेखि यस क्षेत्रका बासिन्दाले घटाल बाबालाई ठूलो धार्मिक आस्था र सम्मानका साथ पूजाआजा गर्दै जाँत मनाउँदै आएका छन् ।
घटाल जाँतका दिन अमरगढी नगरपालिकाले सार्वजनिक बिदासमेत दिने गरेको छ । मेलाको अवसरमा नगरपालिका तथा मातहतका सबै निकायहरू बन्द रहने नगरप्रमुख दिल्लीराज जोशीले जानकारी दिए ।
















