
धनगढी – सुदूरपश्चिम प्रदेशका सात जिल्लाका जिल्ला खेलकुद समितिहरूमा नयाँ अध्यक्ष मनोनयन गरिएको छ। सामाजिक विकासमन्त्री मेघराज खड्काको अध्यक्षतामा बसेको प्रदेश खेलकुद परिषद्को बोर्ड बैठकले उक्त निर्णय गरेको हो।
परिषद्का सदस्य सचिव लोकबहादुर खड्काका अनुसार कैलालीमा दिनेश भण्डारी, कञ्चनपुरमा ज्ञानेन्द्र सिंह, बैतडीमा भुपेन चन्द, अछाममा गोकुलबहादुर शाह, बझाङमा कमलबहादुर सिंह, बाजुरामा कोपिलाकुमारी सिंह र डडेल्धुरामा जगतबहादुर ऐरलाई अध्यक्षमा मनोनयन गरिएको छ।

नवनियुक्त अध्यक्षहरूलाई चार वर्षे कार्यकालका लागि जिम्मेवारी दिइएको छ। यसअघि नै डोटी र दार्चुला जिल्लामा अध्यक्ष मनोनयन भइसकेकाले ती जिल्लाका अध्यक्षहरूको कार्यकाल भने अझै बाँकी रहेको परिषद्ले जनाएको छ।
















