
अत्तरिया – कैलालीको अत्तरियामा उद्यमीहरुका लागि डिजिटल वित्तिय साक्षरता तालिम सुरु भएको छ।
गोदावरी नगरपालिकाको समन्वय, गैर सरकारी संस्था जिआइजेडको सहयोग तथा महिला उद्यमी महासंघ नेपालको आयोजनामा सुरु भएको दुईदिने तालिमको आज गोदावरी नगरपालिकाकी उप प्रमुख शारदा देवी रोकायाले उद्धघाटन गरेकी छिन् ।

उद्धघाटन कार्यक्रममा बोल्दै उप प्रमुख रोकायाले तालिमले उद्यमीहरुलाई डिजिटल कुराहरुमा सक्षम बन्न सहयोग पुग्ने बताइन् । महिलाहरु आत्मनिर्भर हुन आवश्यक रहेको भन्दै उनले समयअनुसारको प्रविधिको ज्ञान पनि सिक्नुपर्ने बताइन् ।
संघकी केन्द्रिय सदस्य एवम् सुदूरपश्चिम प्रदेश अध्यक्ष मिना फुलाराले पछिल्लो समय प्रविधिजन्य जोखिमहरु बढ्दै गएकोले आफूहरुले यो तालिम आयोजना गरेको बताइन् ।

डिजिटल कुराहरुबारे जानकारी राख्दा समय र श्रमका साथै खर्च पनि बचत हुने भएकोले डिजिटल वित्तिय साक्षरता उद्यमीहरुलाई अति आवश्यक भइसकेको उनले बताइन् ।
उद्यमी महिलाहरुले सामाजिक सञ्जालको उचित प्रयोगसंगै सावधानी अपनाउनु पर्ने आवश्यक देखिएको उनले बताइन् ।
उद्धघाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै महिला उद्यमी संघ कैलालीकी अध्यक्ष सुनी भण्डारीले प्रविधिको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै तालिमको आयोजना गरिएको बताइन् ।
उनले विशेषगरी महिला उद्यमीहरुलाई प्रविधिजन्य जोखिमबाट बचाउन यसप्रकारको प्रशिक्षण सञ्चालन गरिएको बताइन् । तालिममा सुदूरपश्चिमका पाँच वटा जिल्लाका ४० जना उद्यमीहरुको सहभागीता रहेको छ ।














