
अत्तरिया – कैलालीको गेटा स्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ ।
बिहिबार शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतमा बसको विश्वविद्यालय सभा (सिनेट) बैठकले उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि सिफारिस समिति गठन गरेको हो ।

अध्यादेश मार्फत पदाधिकारी पदमुक्त भएपछि नयाँ नियुक्तिको प्रक्रिया अगाडि बढाउँदै समिति गठन गरिएको जनाइएको छ ।
समितिमा प्रा.डा. जयराज अवस्थीको संयोजकत्व रहेका छन भने प्रा.डा. लोचना श्रेष्ठ र दिनेश लम्साल सदस्य रहेका छन् ।
यसअघि पनि अवस्थीकै संयोजकत्वमा सिफारिस समिति बनाएर उपकुलपति र रजिष्ट्रार नियुक्त गरिएको थियो ।
समितिले विश्वविद्यालय ऐन बमोजिम दफा ७ को उपदफा २ (ठ) अनुसार ६ जना सदस्य मनोनित गरेको छ । मनोनित सदस्यहरूमा प्रा. डा. जयराज अवस्थी, डम्बर बहादुर पाल, हेमा भट्ट, प्रा. डा. संगीता राजभण्डारी, डा. लवदेव अवस्थी तथा धर्मदेव भट्ट रहेका छन् ।














