
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-३ मा रहेको मालाखेती अस्पतालमा डिजिटल ल्याब मेसिन (फुल्ली अटो बायोकेमेस्ट्री एनालाइजर) ७ महिनादेखि थन्किएको छ ।
म्याक्सिम इन्कर्पोरेसन ट्रेर्डस प्रालि काठमाडौंले गत असोज २२ गते मालाखेती अस्पताललाई निशुल्क हस्तान्तरण गरेको यो मेसिन अस्पतालले हालसम्म सञ्चालनमा ल्याउन नसकेको हो ।

कम जनशक्तिमा, चाँडो रगतका विभिन्न जाँचहरु गर्नसक्ने यो मेसिन थन्किँदा रगत जाँचको रिर्पाट लिन बिरामीले घण्टौँ पर्खिनुपर्ने बाध्यता रहेको छ ।
बिरामीलाई छिटो र गुणस्तरीय सेवा दिने उक्त मेसिन प्रयोगमा नआउँदा सेवाग्राही मारमा परेका छन् । अस्पतालका मेसु (मेडिकल सुपरिटेन्डेन्ट) डाक्टर पदम प्रकाश शर्माले उक्त मेसिन सञ्चालनमा आए/नआएकोबारे आफूलाई कुनै जानकारी नभएको जवाफ दिए ।
अस्पतालका सबै सेवाहरुबारे आफूलाई जानकारी नहुनेजस्तो गैरजिम्मेवार जवाफ दिँदै उनले यो ल्याबको विषय भएकोले ल्याब टेक्निसियनहरुलाई नै सोध्नुपर्ने प्रतिक्रिया दिए ।
अस्पतालको प्रशाशन शाखामै कार्यरत सहायक पाँचौ नवराज जोशीले मेसिन उपलब्ध गराउने कम्पनीले सञ्चालनका लागि आवश्यक पर्ने केमिकल उपलब्ध नगराउँदा मेसिन सञ्चालन गर्न नसकिएको बताए ।
“ स्वास्थ्य क्षेत्रमा प्राय जुन कम्पनीको उपकरण हो, त्यहि कम्पनीले सञ्चालनका लागि आवश्यक पर्ने केमिकल पनि उपलब्ध गराउने गर्दछ, उनले भने , तर हामीलाई उपकरण दिएको कम्पनीले हामीले पटकपटक भन्दा पनि केमिकल उपलब्ध गराएन ।”
अस्पतालका ल्याब प्रमुख जनकराज जोशीले आफूहरुले मेसिन उपलब्ध गराउने कम्पनीलाई पटकपटक सम्पर्क गर्दा पनि आश्वासन मात्रै दिने गरेको बताए ।
अहिले सञ्चालनमा रहेको सेमि अटो बायोकेमेस्ट्री एनालाइजर मेसिनबाट नमूनाहरु जाँच गर्दा रिर्पोटका लागि सेवाग्राहीले २/३ घण्टा पर्खिनुपर्ने अवस्था रहेको उनले बताए ।
“सेवा नै रोकिएको त होइन, तर अहिले चालु अवस्थामा रहेको मेसिनमा एक/एक गरी नमूनाहरु राख्नुपर्छ र रिर्पोटका लागि सेवाग्राही २/३ घण्टा पर्खिनुपर्छ ।,उनले भने, फुल्ली अटो बायो केमेस्ट्री एनालाइजरमा एकै पटकमा धेरै नमूनाहरु सहज तरिकाले जाँच गर्न सकिन्थ्यो ।”
सो मेसिनमा १ घण्टामै ५० वटाजति नमूनाहरु जाँच गर्न सकिने उनले बताए । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष डाक्टर नर बहादुर मौनीले मेसिन सञ्चालनमा नआएको बारे प्रशासनसंग बुझ्ने बताएका छन् ।
अस्पतालमा आधुनिक उपकरण हुँदाहुँदै पनि व्यवस्थापन र नियमित सञ्चालनमा कमजोरी हुँदा अस्पतालको सेवा प्रभावकारी बन्न सकेको छैन ।














