
अत्तरिया – सडक डिभिजन कार्यालय महेन्द्रनगरले गड्डाचौकी–अत्तरिया–चिसापानी खण्डको महेन्द्र राजमार्ग क्षेत्रमा हटाउनुपर्ने संरचना एकिन गर्न थालेको छ ।
महेन्द्र राजमार्ग क्षेत्रमा बनेका अनधिकृत संरचना हटाउन सडक डिभिजनले दिएको १५ दिने समयसीमा जेठ १४ गते सकिएको छ ।

गत वैशाख ३० गते सडक डिभिजन कार्यालय महेन्द्रनगरले एक सूचना जारी गर्दै सडकको २५ मिटर दायाबाँयाका संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको थियो ।
राजमार्ग क्षेत्रमा बनेका अनधिकृत संरचना तोकिएको समयभित्र खाली नगरेमा कार्यालयले आफैँ संरचना भत्काउने र लाग्ने खर्च सम्बन्धित व्यक्तिबाटै असुल उपर गर्ने बताएको थियो ।
समयसीमाभित्र नहटेका संरचना एकिन गर्ने कार्य भइरहेको सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख राजेश यादवले बताएका छन् ।
सूचनापछि ८० प्रतिशत संरचनाहरु खाली भइसकेको भन्दै उनले अब बाँकी रहेका संरचनाहरु जुनसुकै बेला पनि हटाउन सकिने बताएका छन् ।
“हटाउनुपर्ने संरचनाहरु एकिन गरिरहेका छौं यादवले भने, ८० प्रतिशत संरचनाहरु हटिसकेका छन् भने बाँकी संरचनाहरुमा जुनसुकै बेला पनि हामी डोजर लाउन सक्छौं ।”
अब पूर्वजानकारी दिनु नपर्ने भएकोले जतिबेला, जुनसुकै ठाउँका संरचना पनि हटाउन सकिने यादवले बताएका छन् ।
सार्वजनिक संरचनाबारे स्थानीय तहसंग समन्वय गरिने
सडक क्षेत्रमा केहि ठाउँहरुमा शौचालय, प्रतिक्षालय लगायतका सार्वजनिक संरचनाहरु पनि परेका छन् ।
ति संरचनाहरुको व्यवस्थापन र विकल्पका लागि सम्बन्धित स्थानीय तहसंग समन्वय गरिने सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख यादवले बताएका छन् ।
हाल सडकको सिमा छुट्याउने काम भए पनि विस्तार भने तुरुन्तै नहुने उनको भनाई छ ।













