गेटा आँखा अस्पतालमा बेथिति, जागे स्थानीय

Image
maya metro

अत्तरिया – नेपाल नेत्र ज्योती संघद्धारा सञ्चालित कैलालीको गोदावरी नगरपालिका वडा नम्बर-५ स्थित गेटामा रहेको गेटा आँखा अस्पतालमा बेथिति सिर्जना भएको भन्दै स्थानीयहरु आक्रोशित भएका छन् ।

बुधबार अस्पताल परिसरमा जम्मा भएका उनीहरुले अस्पतालको बेथिति विरुद्ध संघर्ष समिति गठन गरेका छन् । गणेश विष्टको संयोजकतवमा गठित संघर्ष समितिले अस्पताल व्यवस्थापन समितिसंग ६ बुदे माग अघि सारेको छ ।

nisarga

कर्मचारी माथिको प्रशासकिय दमन बन्द गर्नुपर्ने, उमेरहद नाघेका कर्मचारीहरुलाई अवकास दिनुपर्ने, नेपाल नेत्रज्योती संघको आजीवन सदस्यता खुला गर्नुका साथै व्यवस्थापन समितिमा ५० प्रतिशत स्थानीय प्रतिनिधित्व हुनुपर्ने समितिले माग गरेको छ ।

त्यस्तै निहित व्यक्तिको उपस्थितिमा बनेको व्यवस्थापन समितिको औचित्यततामाथि प्रश्नचिन्ह खडा भएको हुँदा तत्काल आजीवन सदस्यता खुला गरी व्यवस्थापन समिति भंग गर्नुपर्ने र साधारण सभाको आह्वान गरी स्थानीयको ५० प्रतिशत सहभागितासहित पुनःह नयाँ व्यवस्थापन समिति चयन गर्नुपर्ने माग राखेका छन् ।

समितिले आजीवन सदस्यता शुल्क घटाई साधारण नागरिकको पहुँचको हिसाबमा कायम गर्नुपर्ने र चिकित्सकको पदपुर्ति गर्नुपर्ने माग गरेको छ । आफूहरुका माग सुनुवाइ नभए विरोधका थप कार्यक्रमहरु गर्ने समितिको भनाई छ ।

आफ्नै वडाको अस्पतालमा कर्मचारी र प्रशाशनबिच विवाद भइरहेका भिडियो दिनहुँजसो सामाजिक सञ्जालमा देखिन थालेपछि चासो राख्न बाध्य भएको स्थानीय गीरीराज भण्डारीले बताए ।

प्रशासनका कर्मचारीमाथि आरोपै आरोप

अस्पतालबाट अनिर्वाय अवकासमा गएर पनि अस्पतालमै कार्यरत रहेका रमेशचन्द्र भट्ट, राज बहादुर चौधरी तथा नेपाली सेनाबाट अवकास पाएर गेटा आँखा अस्पतालमा प्रमुअ प्रशासकका रुपमा कार्यरत दिर्घ बहादुर चन्दले राजिनामा दिनुपर्ने समितिको माग रहेको छ । समितिमात्रै नभइ गत वैशाख ३० गतेदेखि अस्पतालका कर्मचारीहरु पनि विरोध जनाउँदै आएका छन् ।

अस्पतालका बाह्य कार्यक्रम व्यवस्थाापक रमेशचन्द्र भट्टमाथि आफू अनुकुलका मान्छेलाई मात्रै अवसर वितरण गर्ने, योग्य र दक्ष कर्मचारीलाई प्रोत्साहन गर्नुको सट्टा निरुत्साहित गर्ने गरेको आरोप आन्दोलनरत कर्मचारीहरुले लगाएका छन् । त्यस्तै नेपाली सेनाबाट अवकास पाइसकेका दिर्घ बहादुर चन्दलाई व्यवस्थापन सल्लाहकारबाट प्रवेश गराई एक वर्षमै अस्पतालको प्रमुख प्रशाशकमा नियुक्त गरिएको थियो ।

चन्दले कर्मचारीमाथि अपमानजनक व्यवहार गर्ने गरेको, राजिनामा दिन बाध्य पारेको, जबरजस्ती जागिरबाट निकालेको आरोप कर्मचारीहरुले लगाएका छन् । चन्दले अस्पतालमा तानाशाही शासन लाद्न खोज्ने, तिमिहरुलाई मैले कार्ड लगाउन सिकाए, युनिफर्म लगाउन सिकाए भन्दै अपमान गर्ने गरेको एक कर्मचारीले बताए ।

त्यस्तै वरिष्ठ प्रशासकिय अधिकृत गोविन्द प्रसाद जोशीले लिंग तथा जातका आधारमा छुद्र टिप्पणी गर्ने गरेको आरोप तल्लो तहका कर्मचारीहरुको छ । कर्मचारीहरुले अस्पताल प्रशासनलाई अधिकार माग्दा, आफ्नो समस्या राख्दा प्रशासनले मानसिक दबाब दिने, स्पष्टिकरण सोध्ने तथा जागिर नै जोखिममा पार्ने वातावरण सिर्जना गरेको गम्भीर आरोप लगाएका छन् ।

अस्पतालमा प्रशासन र कर्मचारीबीच विवाद सिर्जना भएपनि आफूहरुले स्वास्थ्य सेवामा कुनै किसिमको अवरोध आउन नदिएको कर्मचारीहरुको दावी छ । संघर्ष समितिले पनि व्यवस्थापन समितिको कार्यशैलीमाथि प्रश्न उठाएको छ । लामो समयदेखि अस्पतालजस्तो संवेदनशिल ठाउँमा विवाद भइरहँदा पनि समाधान गर्न कुनै पहल नचालेको र अध्यक्ष गैरजिम्मेवार ढंगले अनुपस्थित रहेको सल्लाहकार संयोजक लोकराज पाण्डे (आगो)ले बताएका छन् ।