दार्चुलामा श्रमदानमार्फत अढाई महिनामै पुल निर्माण

Image
maya metro

दार्चुला – दार्चुलाको विकट बस्ती व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा श्रमदानमार्फत अढाई महिनामै झोलुङ्गे पुल निर्माण गरिएको छ।

धरानका प्रतिनिधि सभा सदस्य तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई साम्पाङको समूहले निर्माण गरिरहेको पुलको निर्माण कार्य पूरा भएर उद्घाटनको तयारीमा छ। कोशी प्रदेशको पूर्वी धरानबाट सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुला पुगेर प्रतिनिधि सभा सदस्य राईले गत चैत २४ गते यहाँको काठा दुम्लिङमा ७२ मिटरको झोलुङ्गे पुल निर्माणका लागि शिलान्यास गरेका थिए।

nisarga

चैत २४ यता निरन्तर पुल निर्माणका काम श्रमदानमार्फत भइरहेको पुल निर्माण अभियानका एडमिन म्यानेजर नवीन राईले जानकारी दिए। उनले भने, “श्रमदाताको पूर्ण सहयोग र समर्थनले अढाई महिनामै पुल निर्माण गर्न सफल भएका छौँ, सबै श्रमदातालाई धन्यवाद।”

पुलको असार १६ गते मङ्गलबार प्रतिनिधि सभा सदस्य हर्कराज राई साम्पाङले दुम्लिङ पुगेर उद्घाटन गर्ने कार्यक्रम तय भएको पनि उहाँले जानकारी दिनुभयो । झोलुङ्गे पुल निर्माणमा चार सय जनाभन्दा बढीले श्रमदान गरेको उहाँले बताउनुभयो । नेपालका अधिकांश जिल्लाका नागरिक दुम्लिङ पुगेर पुल निर्माणमा श्रमदान गरेको उनको भनाइ छ।

काठा दुम्लिङमा प्रतिनिधि सभा सदस्य राईको पहल र विभिन्न जिल्लाका नागरिकको श्रमदानमार्फत निर्माण भएर पुल सञ्चालनको तयारीमा रहेका बेला स्थानीय सविता बुढाथोकीले विद्यालय जाने बालबालिका हिँड्न र स्थानीयलाई खोला वारपार गर्न निकै सजिलो भएको बताए।

उनले बर्सातको चार महिना खोलाको जोखिम मोलेर वारपार गर्न बाध्य यहाँका स्थानीय झोलुङ्गे पुल निर्माणपछि खुसी भएको बताए। यसअघि सोही ठाउँमा दुई पटक पुल निर्माणका लागि सरकारी पक्षबाट सर्भेको काम गरिए पनि पुल निर्माण हुन नसक्दा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य रहेको उनको भनाइ छ । उनले पुल निर्माणपछि स्थानीयलाई आवतजावतमा सहजता भएको बताए।

स्थानीय वीरेन्द्र बुढाथोकीले खुसी हुँदै भने, “श्रमदानमार्फत यति छिटो पुल निर्माण भयो। सरकारी पक्षबाट निर्माण गरेको भए प्रक्रियामै बर्सौं लाग्ने गरेका कैयौँ उदाहरण छन्।” स्थानीय द्रोपती जोहारीले पुल निर्माण सम्पन्न भएसँगै खोला तर्नुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो । स्थानीयको माग र आवश्यकताका आधारमा काठा दुम्लिङको स्थानीय खोलामा झोलुङ्गे पुल निर्माण गरिएको इन्जिनियर डम्बर लिम्बूले जानकारी दिए।

बर्सातको समयमा खोला तर्न नसक्दा विद्यार्थी विद्यालय जानबाट वञ्चित हुने, यार्चागुम्बा टिप्न जाने नागरिकको सहजताका लागि सो खोलामा पुल निर्माण गरिदिन प्राविधिक टोलीलाई स्थानीयले आग्रह गरेका थिए। साथै स्थानीयले विगतदेखि नै प्रयोग गर्दै आइरहेको तुइन हटाएर भारतसँग सीमा जोडिएको महाकाली नदीमाथि नेपाल–भारत जोड्ने झोलुङ्गे पुल निर्माण गरिदिन सरकार र प्रतिनिधि सभा सदस्य राईसँग बेला बेला आग्रह गरेका छन्।

अन्तर्राष्ट्रिय सीमानाकामा संरचना निर्माण गर्न दुई देशको सहमति चाहिने हुँदा तत्काल महाकाली नदीमाथि नेपाल–भारत जोड्ने पुल निर्माण सम्भव नरहेको प्रतिनिधि सभा सदस्य राईले बताए। राज्यको दृष्टि नपुगेको दुम्लिङमा प्रतिनिधि सभा सदस्य राईको अगुवाइमा पुल निर्माण भएपछि दुम्लिङका स्थानीय खुसी भएका छन्।