नसर्ने रोगका बिरामी बढ्दै

Image
maya metro

कञ्चनपुर – बदलिँदो जीवनशैली, असन्तुलित खानपान र शारीरिक गतिविधिमा आएको कमीका कारण कञ्चनपुरको बेलौरी नगरपालिकामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । नगरपालिकाले हालै सञ्चालन गरेको स्वास्थ्य परीक्षण शिविरमा सहभागी प्रत्येक तीन जनामध्ये एक जनामा कुनै न कुनै प्रकारको नसर्ने रोग देखिएको हो ।

नगरपालिकाको स्वास्थ्य शाखाले १० वटै वडामा सञ्चालन गरेको नसर्ने रोग (एनसिडी) स्क्रिनिङ शिविरमा तीन हजार ३१६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । परीक्षण गरिएकामध्ये एक हजार १२ जनामा उच्च रक्तचाप, मोटोपना, मधुमेह वा मिर्गौलासम्बन्धी समस्या पुष्टि भएको जनस्वास्थ्य अधिकृत मानबहादुर चन्दले जानकारी दिए ।

nisarga

उनका अनुसार स्वास्थ्य परीक्षण गरिएकामध्ये ४११ जनामा मोटोपना, ३६८ जनामा उच्च रक्तचाप, १५२ जनामा मधुमेह र ८१ जनामा मिर्गौलासम्बन्धी समस्या देखिएको छ । अधिकांश बिरामीलाई आफूमा रोग रहेको जानकारी नै नभएको अवस्थामा स्क्रिनिङमार्फत रोग पहिचान गरिएको उनले बताए ।

“नसर्ने रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्दैन”, चन्दले भने, “तर अस्वस्थ जीवनशैलीका कारण यसको जोखिम निरन्तर बढिरहेको छ, अत्यधिक नुन, चिल्लो तथा चिनीको सेवन, प्रशोधित खाद्य पदार्थको प्रयोग, नियमित शारीरिक व्यायामको अभाव, धुमपान, सुर्तीजन्य पदार्थ तथा मदिरा सेवन, पर्याप्त निद्राको कमी, मानसिक तनाव र मोटोपनाले उच्च रक्तचाप, मधुमेह, मुटु तथा मिर्गौलाका रोगका साथै केही प्रकारका क्यान्सरको जोखिमसमेत बढाउँछ ।”

उनका अनुसार नसर्ने रोगलाई समयमै पहिचान गरी उपचार नगरे मुटुघात, पक्षघात, मिर्गौला फेल हुने, आँखाको दृष्टि गुम्ने तथा अकाल मृत्युजस्ता गम्भीर जटिलता निम्तिन सक्छन् । स्वास्थ्यकर्मीहरूले स्वस्थ जीवनशैली अपनाउन, सन्तुलित तथा पोसिलो आहार सेवन गर्न, दैनिक शारीरिक व्यायाम गर्न, धुमपान तथा मदिरा सेवनबाट टाढा रहन र नियमित स्वास्थ्य परीक्षण गराउन आग्रह गरेका छन् ।