
धनगढी – कैलालीमा भन्सार छली गरी ल्याएको ८१ ग्रामभन्दा बढी सुनसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–९ निवासी ३६ वर्षीय दिपक गौर रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले अवैध सुनजस्तो देखिने पदार्थ कारोबारका लागि बोकेर हिँडिरहेको भन्ने सूचनाका आधारमा खोजतलास गर्ने क्रममा धनगढी उपमहानगरपालिका–१ बाट उनलाई पक्राउ गरेको हो।

प्रहरीले खानतलासी गर्दा गौरको खल्तीबाट ८१ ग्राम ८८० मिलिग्राम तौलको सुन बरामद गरेको जनाएको छ। सुनको मूल्य २१ लाख ६२ हजार १ सय २३ रुपैयाँ बराबर रहेको बताइएको छ। गौरको साथबाट ‘निलो सुन चाँदी गहना पसल’को नाममा रहेको बिलसमेत फेला परेको थियो।
तर उक्त बिलमा पसलको छाप नरहेको र बरामद पदार्थको स्रोतसमेत खुलाउन नसकेपछि प्रहरीले भन्सार छली गरी ल्याएको आशंकामा उक्त पदार्थ बरामद गरेको जनाएको छ। सुनसहित गौरलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय, त्रिनगरमा बुझाइएको छ।














