बडीमालिका मुख्य पूजासहित मेला

Image
maya metro

बाजुरा – धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला सुरु भएको छ। यहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल चतुर्दशीका दिन मेला लाग्ने परम्परा छ।

बडीमालिकामा मुख्य मेला आज भए पनि दर्शनार्थीहरुको चापलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि पूजा प्रारम्भ गरिएको बडीमालिका मन्दिरका पुजारी नेत्र पाध्यायले जानकारी दिए। जनैपूर्णिमाका अवसरमा बडीमालिकासँगै बूढीनन्दा, बडालेखसहित दर्जन बढी धार्मिक शक्तिपीठमा पूजा लाग्ने गरेको छ।

nisarga

साउन शुक्ल चतुर्दशीका दिन बडीमालिका माताको पूजा गरेर सोही दिन तल झर्ने र जनैपूर्णिमाको दिन त्रिवेणी नगरपालिका–७ स्थित नाटेश्वरी मन्दिरमा पूजाआजा गर्ने परम्परा रहेको पुजारी पाध्यायले बताए। चार हजार दुई उचाइमा अवस्थित बडीमालिकामा मेला भर्न हरेक वर्ष देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट यहाँ दर्शनार्थी आउने गरेका छन्।

बाजुरा, डोटी, कालीकोट र जुम्लाबाट पूजा सामग्रीसहित सरकारी टोली त्यहाँ जाने परम्पराबमोजिम सबै सरकारी टोली पुगिसकेको र हाल दर्शनार्थीहरुले पूजा गरिरहेको बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्काले बताए। “विगतका वर्षभन्दा यसपटक दर्शनार्थीको सङ्ख्या बढ्ने अनुमान छ”, उनले भने, “गत वर्ष नेपाली सेनाले प्यागोडा शैलीमा बडीमालिको नयाँ मन्दिर निर्माण गरेपछि यसको आकर्षण थप बढेकाले पनि दर्शनार्थीको सङ्ख्या बढ्न थालेको छ।”

बडीमालिका माताको दर्शनका लागि ठूलो सङ्ख्यामा दर्शनार्थी पुग्ने गरेकाले भदौ १ बाटै पूजा प्रारम्भ भएको र सुरक्षा व्यवस्थापन मजबुत बनाएकाले त्यहाँ भिरालो भूगोलका कारण केही अप्ठ्यारो र लेक लाग्ने समस्याबाहेक अन्य कुनै समस्या नहुने प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए। बडीमालिकामा बर्सेनि हजारौँको सङ्ख्यामा पर्यटक तथा दर्शनार्थीहरु पुग्ने गरेका छन्।

सञ्चार सेवा नहुँदा तीर्थयात्री तथा सुरक्षाकर्मीले मोबाइल सम्पर्क र इन्टरनेट प्रयोगमा समस्या भोग्दै आएका थिए। तर यस वर्ष मेलाअगावै सञ्चार सम्पर्क सहज बनाउन नेपाल टेलिकमको फोरजी टावरसमेत सञ्चालनमा ल्याइएको छ। फोरजी सेवा सञ्चालनमा आएपछि त्यहाँ पुग्ने भक्तजनलाई परिवारसँग सम्पर्क, सूचना आदानप्रदान र इन्टरनेट प्रयोग एवं उद्धार तथा सुरक्षा निकायसँग सम्पर्क गर्नसमेत सहयोग पुगेको प्रमुख जिल्ला अधिकारी निरौलाले बताए।

टेलिफोन तथा इन्टरनेट सेवा विस्तार

यसअघि सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपाल टेलिकमलाई तत्काल बडीमालिका क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए। प्रधानमन्त्री वालेन्द्र शाहले यसअघि धनगढीमा चुनावी अभियानका क्रममा बडीमालिकालाई ‘नेपालको स्वीट्जरल्यान्ड’ भनेर उल्लेख गरेपछि पनि यो क्षेत्र थप चर्चामा आएको स्थानीयको भनाइ छ।

समुद्री सतहबाट चार हजार २०० मिटर उचाइमा अवस्थित भू–स्वर्ग बडीमालिका प्राकृतिक सुन्दरताले भरिपूर्ण मात्रै नभई धार्मिक आस्थाको पनि अद्भूत सङ्गम हो। यहाँको दर्शनले मनोकाङ्क्षा पूरा हुने, रोग निको हुने, पुत्र प्राप्ति हुनेलगायत धार्मिक विश्वास प्रचलित छन्।

मनमोहक त्रिवेणी क्षेत्र, २२ पाटन, ती फाँटमाथि फुलेका रङ्गीचङ्गी फूल, खेतीबेती, विष्णुपानी, धर्मद्वार बडिमालिका क्षेत्रका प्रसिद्ध स्थल हुन्। यहाँ डाँफे, मुनाल, कस्तुरी र झालरजस्ता दुर्लभ चराचुरुङ्गी र वन्यजन्तु पाइन्छन्। हिमालको मनोरम दृश्य, हराभरा पाटन, दुर्लभ वन्यजन्तु र पौराणिक किंवदन्तीले भरिपूर्ण यो पवित्र स्थलमा पछिल्ला केही वर्षयता देश तथा विदेशबाट भक्तजन तथा पर्यटक आउनेक्रम बढ्दै गएको छ।