
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–५ मा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा साताव्यापी वृक्षरोपण कार्यक्रम सुरु भएको छ ।
विश्वविद्यालय परिसरलाई हराभरा तथा वातावरणमैत्री बनाउने उद्देश्यले सुरु गरिएको अभियानअन्तर्गत विभिन्न संघसंस्था तथा राजनीतिक दलहरूले वृक्षरोपण गरिरहेका छन् ।

हिजोदेखि सुरु भएको उक्त कार्यक्रममा लायन्स क्लब, नेपाली सेना लगायतले पहिलो दिन विश्वविद्यालय परिसरमा करिब साढे पाँच सय बिरुवा रोपण गरिसकेका छन् ।
आइतबार (आज) राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोदावरी नगर कमिटीले पनि परिसरमा करिब २५० वटा बिरुवा रोपेको छ। लिची, आँप, अम्बा, जामुनलगायत विभिन्न प्रजातिका फलफूलका बिरुवा परिसरमा रोपिँदै छन ।
विश्वविद्यालयका रजिस्ट्रार भिम बहादुर चन्दले साताव्यापी वृक्षरोपण अभियानमा सबै पक्षको सहयोग र सहभागिता आवश्यक रहेको बताउँदै अभियानमा सहभागी हुन आग्रह गरेका छन् ।
विश्वविद्यालय परिसरलाई हरियालीयुक्त बनाउन सुरु गरिएको अभियानमा विभिन्न संघसंस्था तथा समुदायको उत्साहजनक सहभागिता भइरहेको उनको भनाइ छ ।
वृक्षरोपण अभियानले विश्वविद्यालय परिसरको सौन्दर्य अभिवृद्धिसँगै वातावरणीय संरक्षणमा समेत दीर्घकालीन योगदान पुग्ने अपेक्षा गरिएको उनले बताएका छन् ।
रोपण गरिएका बिरुवाको संरक्षण गर्न पनि जरुरी रहेको उनले बताए । रास्वपा गोदावरी नगर कमिटीले पनि वृक्षरोपण अभियानलाई निरन्तरता दिने जनाएको छ ।
रास्वपाका पूर्व प्रदेश वन तथा वातावरण प्रमुख लोकेन्द्र भट्टले विश्वविद्यालय परिसरमा भोलि पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिइने बताए ।
उनले वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि वृक्षरोपणसँगै रोपिएका बिरुवाको संरक्षणमा समेत ध्यान दिनुपर्ने बताए ।















