
काठमाडौँ – हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ’।

हाल देशको हिमाली भू-भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली भएको छ। बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बादलमय मौसम छ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै गण्डकी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू-भागमा साधारणतया बदली हुनेछ भने बाँकी प्रदेशका हिमाली भू-भागमा आंशिक बदली रहनेछ। देशका पहाडी भू-भागमा आंशिक बादलमय मौसम रहनेछ।
मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।
मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार ‘देशको हिमाली भू-भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा’ मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।














