
बैतडी – बैतडीमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । डडेलधुरा सदरमुकामबाट बैतडीको पञ्चेश्वरतर्फ जाँदै गरेको जीप बुधबार बेलुका पाटन–पञ्चेश्वर सडकखण्डअन्तर्गत मेलौली नगरपालिका–१ सौडानी खोलामा दुर्घटना भएको हो ।
दुर्घटनामा बैतडीको पञ्चेश्वर गाउँपालिका–२ की ३५ वर्षीय सुना मङ्गोलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सुरज सिंहले जानकारी दिए । गम्भीर घाइते मंगोलाको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा जीप चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा पञ्चेश्वर गाउँपालिका–२ का सोमन मंगोला, अविनाश राम लुहार, निरज बस्केल, करन सिह मंगोला, सुनिल बस्केल र जीप चालक सन्तोष राम लुहार छन् ।
घाइतेको प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जीप अनियन्त्रित भई सडकबाट तल खसेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
रासस






























