राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएका गोदावरीका खेलाडीलाई गोदावरी -१० द्वारा सम्मान तथा सहयोग

Image
maya metro

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि सुदूरपश्चिम प्रदेशबाट छनोट भएका खेलाडीलाई बधाई, सम्मान तथा सहयोग कार्यक्रम आयोजना गरिएको छ।

गोदावरी नगरपालिका वडा नम्बर -१० को कार्यालयले आज खेलाडीलाई बधाई, सम्मान तथा सहयोग कार्यक्रमको आयोजना गरेको हो ।

nisarga

प्रदेशबाट राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन गोदावरी नगरपालिकाबाट छनोट भएका खेलाडीको हौसला अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको वडा नम्बर -१० का वडा अध्यक्ष रविन्द्र शाही (गुड्डु)ले बताएका छन् ।

उनले अनुशासित भएर खेल्न खेलाडीहरुलाई आग्रह गरे । प्रतियोगिताका लागि विभिन्न विधामा छनोट भएका गोदावरीका ६ जना खेलाडीहरुलाई शाहीले प्रती खेलाडी ५ हजार एक सय रुपैयाँ हस्तान्तरण गरेका छन् ।

उसु प्रतियोगितामा छनोट भएकी मनिषा राना क्षेत्रीले वडाको यस कार्यले आफूलाई थप हौसला मिलेको बताइन् ।

कार्यक्रममार्फत छनोट भएका खेलाडीलाई बधाई तथा सम्मान गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शनका लागि शुभकामना व्यक्त गरिएको छ।

दसौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट ३० खेलमा ६ सय खेलाडी सहभागी हुने भएका छन् ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रदेशस्तरीय छनोट प्रतियोगिता सञ्चालन गरी राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोट गरेको हो ।

परिषद्ले सार्वजनिक गरेको छनोट सूचीअनुसार भलिबल, फुटबल, क्रिकेट, एथलेटिक्स, तेक्वान्दो, कराते, ब्याडमिन्टन, कुस्ती, कबड्डी, हक्की, बास्केटबल, खोखोलगायत ३० वटा खेलमा प्रदेशको प्रतिनिधित्व गर्ने खेलाडी छनोट भएका छन् ।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८३ मङ्सिर १६ देखि २९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुँदैछ।