
धनगढी – चालु आर्थिक वर्ष सुरु भएको तीन महिना बितिसक्दा पनि सुदूरपश्चिम प्रदेश सरकारको बजेट कार्यान्वयनले गति लिन सकेको छैन। बजेटसम्बन्धी राजनीतिक विवाद नटुङ्गिँदा नयाँ विकास आयोजना कार्यान्वयन अन्योलमा परेका छन्।
सरकारले पूरक बजेट ल्याउने कि पारित भइसकेकै बजेट कार्यान्वयन गर्ने भन्ने विषयमा सत्तारुढ दल र गठबन्धनभित्रै सहमति जुट्न नसक्दा विकास निर्माणका काम प्रभावित भएका हुन्।

बजेट विवादकै कारण सरकार परिवर्तनको अवस्थासमेत सिर्जना भएपछि असोज २८ गते प्रदेशसभाबाट चालु आर्थिक वर्ष २०८३-८४ को बजेट पारित भएको थियो।
बजेट पारित गर्नुअघि प्रदेशसभामा बसेको बैठकमै सरकारले कात्तिक महिनाभित्र पूरक बजेट ल्याउने जानकारी दिएको थियो। त्यसको भोलिपल्ट आर्थिक मामिला मन्त्रालयले बजेट कार्यान्वयन मार्गदर्शन पठाएपछि प्रदेश सरकार मातहतका कार्यालयले बजेट कार्यान्वयनको प्रक्रिया अघि बढाएका थिए।
पूरक बजेटसमेत आउने भनिएपछि कार्यालयहरूले तलबभत्ता, विगतका दायित्व र बहुवर्षीय आयोजनाको भुक्तानीबाहेक नयाँ आयोजना तथा विकास निर्माणका काममा बजेट खर्च गर्न सकेका छैनन्।
पूरक बजेट ल्याउने विषयमा राजनीतिक सहमति नजुट्दा बजेट कार्यान्वयनको प्रक्रिया नै अन्योलमा परेको हो।
मुख्यमन्त्री खगराज भट्टले भने एक–दुई दिनभित्र बजेट कार्यान्वयनको विषय टुंगो लाग्ने दाबी गरेका छन्।
पूरक बजेट ल्याउने वा अहिले पारित भएको बजेटलाई नै पूर्ण रूपमा कार्यान्वयन गर्ने भन्ने विषयमा अझै स्पष्ट निर्णय सार्वजनिक भएको छैन।
तीन महिना बितिसक्दा पनि विकासका आयोजना अघि बढ्न नसकेपछि नागरिकसमेत असन्तुष्ट छन्। धनगढीका स्थानीय तीर्थराज पनेरुले प्रदेश सरकारको बजेटसम्बन्धी अन्योलले नागरिकमा नकारात्मक सन्देश गएको बताए।
‘यतिबेलासम्म धेरै विकास योजनाहरू अगाडि बढिसक्नुपर्ने हो।सरकारकै कारण योजनाहरू अलपत्र परेका छन्। बजेट पारित भइसकेपछि पनि कार्यान्वयन हुन नसक्नु दुःखद हो,’ उनले भने।
प्रदेश सरकारले बजेट पारित गर्ने क्रममा कात्तिक महिनाभित्र पूरक बजेट ल्याएर कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको थियो। कात्तिक महिना बितिसक्दा पनि त्यसको प्रक्रिया अघि बढ्न सकेको छैन। बजेट विवाद समाधानका लागि नेकपाका नेताहरू धनगढी आउने चर्चा भए पनि उनीहरूको भ्रमणसमेत तत्कालका लागि अनिश्चित बनेको छ।


















