दाइको हत्या आरोपमा भाइ र भाइका साथी पक्राउ

padma

सर्लाही – सर्लाहीको कविलासी नगरपालिका–८ अगर्वामा एक युवकको हत्या भएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककै सहोदर भाइसहित दुई जनालाई पक्राउ गरेको छ।

कविलासी नगरपालिका–८ अगर्वाका स्थानीयवासी अन्दाजी वर्ष २४ का अमरेन्द्र ठाकुरको घाँटी रेटेर विभत्स ढंगले हत्या गरिएको अवस्थामा यही असार ७ गते बिहान शव फेला परेको थियो।

प्रहरीले अमरेन्द्रको हत्यामा संलग्न रहेको आरोपमा उनकै सहोदर भाइ अमरकान्त ठाकुर र सोही ठाउँका रूपेशकुमार चौधरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अमरकान्तले रूपेशसँग मिलेर दाई अमरेन्द्रको हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रवीण पोख्रेलले जानकारी दिए।

Shikhar Dental

उनका अनुसार मृतक अमरेन्द्र र भाइ अमरकान्तबीच पहिलेदेखि नै विवाद भइरहने गरेको र असार ६ गते बेलुका पनि उनीहरू दुईबीच तरकारी ल्याउने विषयमा सामान्य विवाद भएपछि भाइ अमरकान्तले गाउँकै साथी रूपेशसँग मिलेर दाइ अमरेन्द्रको हत्या गरेको खुलेको हो।

उनीहरूले अमरेन्द्रलाई असार ६ गते राति करिब ८ बजे खानपिनको व्यवस्था छ, भनी अगर्वा चोकबाट पश्चिम सलेमपुर नहरतर्फ जाने कच्ची सडकको एकान्त ठाउँमा बोलाएर धारिलो हतियारले घाँटी रेटेर र शरीरका विभिन्न भागमा ढुंगा प्रहार गरेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धान गर्दै जाँदा मृतकका भाइ अमरकान्तले शंकास्पद व्यवहार देखाउन थालेपछि उनलाई पनि नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरू दुवैविरूद्ध कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान जारी राखेको छ।

रासस

Nawadurga
Leave A Reply

Your email address will not be published.