अत्तरिया – असुरक्षित गर्भपतन कम गर्न सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण हुने बताईएको छ । बिहिवार धनगढीमा स्वास्थ्य लाइभ मिडियाले आयोजना गरेको सुरक्षित गर्भपतन सम्बन्धी सञ्चारकर्मीसंगको अन्तरक्रियामा यस्तो बताईएको हो ।
अझै समाजमा असुरक्षित गर्भपतनका कारण महिलाले ज्यान गुमाइरहेको बताएका छन् ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले नेपालमा ५३ प्रतिशत अनिश्चित गर्भ रहने गरेकोमा ५२ प्रतिशत असुरक्षित गर्भपतन भइरहेको बताए ।
उनले पाँच प्रतिशत महिलाको असुरक्षित गर्भपतनकै कारण ज्यान जाने गरेको बताए । उनले प्रत्येक दिन २ जना महिलाले ज्यान गुमाइरहेको बताएका छन् ।
स्त्रीरोग विशेषज्ञ डा। गणेशबहादुर सिंहले गर्भपतन सकेसम्म नगर्न सुझाव दिएका छन् । उनले गर्नै परेमा सुरक्षित तरीकाले चिकित्सकको सल्लाह अनुसार मात्रै गर्नुपर्ने बताए । उनले जहाँ पायो त्यही आफूखुसी औषधी खाएर गर्भपतन नगराउन सुझाव दिए ।
उनले अस्थायी साधन प्रयोग र असुरक्षित गर्भपतन कम गर्न सञ्चारमाध्यमको पनि भूमिका महत्त्वपूर्ण रहेको बताए । उनले यसबारे सञ्चारमाध्याममा चेनतामुलक समाचार दिनुपर्ने बताए ।