पछील्लो ७ महिनामा सुदूरपश्चिमका २६२ महिलामा प्रि–क्यान्सर

Image

अत्तरिया – नेपालमा पछिल्ला वर्षहरूमा क्यान्सर सुषुप्त महामारीको रुपमा फैलिदै गईरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार नेपालमा नसर्ने रोगबाट हुने कुल मृत्युको कारणमध्ये ११।११ प्रतिशत क्यान्सरबाट हुने गरेको छ । क्यान्सरबाट ग्रसित भई अस्पताल पुगेका बिरामीले पनि उपकरण र जनशत्तिको अभावमा उपचार पाउन महिनौँ कुर्नपर्ने बाध्यता छ । पछील्लो समय महिलाहरुमा हुने पाठेघरको क्यान्सरको अवस्था पनि उच्च देखीदै गएको छ ।

नेपालमा पाठेघरको मुखको क्यान्सरबाट मात्रै हरेक दिन ४ महिलाले ज्यान गुमाउने गरेको एक अध्ययनले देखाएको छ । यसैबिच सुदूरपश्चिममा चालु आर्थीक वर्षको साउनदेखी माघ २४ गतेसम्म (झण्डै ७ महिनाको अवधीमा) २६२ जना महिलामा प्रि–क्यान्सर देखिएको स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ । ३ हजार ७४२ जनामा भिजुयल इन्फेक्सन आफ्टर एसिटिकएसिड (भिआईए) गरिएकोमा २६२ जना महिलामा प्रि–क्यान्सर देखिएको स्वास्थ्य निर्देशनालय दिपायलका सुचना अधिकारी धर्मानन्द गिरीले जानकारी दिएका छन् । सबैभन्दा बढी बाजुरामा १४६ जना रहेको उनले बताए ।

nisarga

यहाँ ८४८ जनामा भिआईए जाँच गरिएकोमा ३० देखी ४९ उमेर समुहका १४५ जना र ५० माथीकी एक जना महिलामा प्रि–क्यान्सर देखीएको निर्देशनालयले जनाएको छ । त्यस्तै कैलालीमा ८९६ जनामा भिआईए गरिएकोमा ३० देखी ४९ उमेर समुहका ५७ र ५० माथीका १२ जनामा प्रि–क्यान्सर देखीएको निर्देशनालयको तथ्यांक छ । त्यसैगरी डोटीमा ३४१ जनामा जाँच गर्दा ३० देखी ४९ उमेर समुहका ३८ जना प्रि–क्यान्सर पाईएका छन् । बझाङमा २७३ जना जाँच गर्दा ३० देखी ४९ उमेर समुहका ३ र ५० माथीका २ जनामा गरी ५ जना महिलामा प्रि–क्यान्सर पाईएको छ ।

दार्चुलामा २०५ जनाले जाँच गरेकोमा ३० देखी ४९ उमेर समुहका २ जनामा प्रि–क्यान्सर भेटिएको निर्देशनालयले जनाएको छ । त्यस्तै बैतडीमा १३६ जनाले जाँच गरेकोमा ५० वर्ष माथीकी एक महिलामा प्रि–क्यान्सर देखीएको छ भने कञ्चनपुरमा ४८५ जनाले जाँच गरेकोमा १ जनामा प्रि–क्यान्सर देखीएको तथ्यांक रहेको छ । अछाममा ४७३ जना र डडेल्धुरामा ८५ जनाले जाँच गरेकोमा पोजेटिभ देखीएका छैनन् । नौ ओटै जिल्लाको तथ्यांक नियाल्दा शिवीरको आयोजना भएका जिल्लामा आङ खसेका तथा क्यान्सरको मुखमा पुगीसकेका महिलाको संख्या उल्लेख्य रहेको देखीएको गिरीको भनाई छ ।

“लाज मानेर पनि अस्पतालसम्म पाठेघरको जाँचकालागि कतिपय महिला पुग्दैनन् उनले भने यसकोेलागि विकल्प भनेको शिवीर नै हो ।” निर्देशनालयले गतवर्षदेखी मात्रै क्यान्सर प्रभावित महिलाहरुको तथ्यांक राख्न सुरु गरेको थियो । गतवर्ष प्रदेशभरी १४ हजार ९१८ जनाले जाँच गरेकोमा २४५ जनामा प्रि–क्यान्सर देखीएको तथ्यांक निर्देशनालयसंग रहेको छ । तर उनीहरु त्यसपछी कस्तो अवस्थामा छन् भन्नेचाँहि तथ्यांक नरहेको स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य निरीक्षक उत्तम उपाध्यायले बताएका छन् ।

उनका अनुसार निर्देशनालयले परिवार रुग्णता सेवा तथा प्रजनन् स्वास्थ्य कार्यक्रम मार्फत विभीन्न जिल्लामा शिवीरको आयोजना गर्दै आएको छ । बाजुरामा लामो समयदेखी स्वास्थ्यका क्षेत्रमा काम गर्दै आईरहेको गैर सरकारी सँस्था आड्रा नेपालले गत कार्तिकमा शिवीरको आयोजना गर्दा यहाँका उल्लेख्य महिलामा प्रि क्यान्सर देखीएको निर्देशनालयको भनाई छ । पाठेघरको क्यान्सर भनेको पाठेघरको मुख र पाठेघर भित्रको क्यान्सर हो । प्रि–क्यान्सर क्यान्सर हुनुभन्दा अगाडिको स्टेप हो । प्रि–क्यान्सर स्टेप मै गरिएको उपचारले क्यान्सर हुनबाट जोगाउँछ । त्यसले पाठेघर मुखको क्यान्सर हुन नदिन सकिन्छ ।