अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा दादुरा–रुबेला खोप अभियान सुरु भएको छ । आज वडा नम्बर १ मा रहेको घण्टेश्वर माविबाट नगरपालिकाले खोप अभियानको सुरुवात गरेको हो। अभियान २१ गतेसम्म सञ्चालन हुनेछ ।
दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले यहि फाल्गुन १३ गतेदेखी चैत्र ७ गतेसम्म देशका ७५ ओटा जिल्लामा यो अभियान सञ्चालन गर्दै छ । त्यसै अनुरुप दादुरा–रुबेला खोप अभियान सञ्चालन गर्न नगरका सरकारी सबै ९५ विद्यालयमा खोपकेन्द्र तोकिएको गोदावरी नगरपालिका स्थास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन् ।
उत्त अभियानमा ९ महिनादेखी १५ वर्ष मुनिका बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाईनेछ । विद्यालय बाहिरका बालबालिकालाई स्वयमसेविकासंगको सहकार्यमा अभिभावकले खोपकेन्द्रसम्म पुर्याउनु पर्नेछ । नगरपालिकाको स्वास्थ्य शाखाले ९ दिनसम्म सञ्चालन गर्ने यो अभियानमा ५ वर्ष मुनिका बालबालिकाहरुलाई छुटेको नियमित खोप पनि लगाइने छ ।
अभियान सञ्चालनकालागि स्वास्थ्यकर्मी र स्वयमसेविका गरी १ सय १३ जना खटिने अवस्थीले बताए । यसअघि नगरपालिकाले नगरका सबै स्वास्थ्यकेन्द्रमा रहेका स्वास्थ्कर्मीलाई दादुरा–रुबेला खोप अभियान सम्बन्धी अभिमुखीकरण गरिसकेको छ । राष्ट्रिय खोप कार्यक्रम दादुरा–रुबेला खोप अभियान २०८०–२०८१ कार्यक्रम सञ्चालन निर्देशिका अनुसार विगत एक वर्षमा दादुरा रोगको महामारी भएको स्थान र दादुरा रोगका बिरामीको उमेरलाई विश्लेषण गरेर यस अभियानमा दादुरा–रुबेला खोप प्रदान गर्ने लक्षित समूहको आधारमा जिल्लालाई २ समूहमा विभाजन गरेको जनाइएको छ ।
पहिलो समूहमा दादुरा–रुबेलाका लागि उच्च जोखिम भनी पहिचान गरिएका तराईका २१ जिल्ला र काठमाडौँ उपत्यकाभित्रका ३ जिल्ला गरी २४ जिल्ला छन् । दोस्रो समूहमा बाँकी ५३ जिल्ला रहेको निर्देशिकामा उल्लेख छ । दादुरा, रुबेला सङ्क्रामक र प्राणघातक रोगहरू भएकाले बालबालिकालाई अनिवार्य खोप लगाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।