अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा ३२ हजार १७ जना बालबालिकाले दादुरा—रुबेला विरुद्धको खोप लगाएका छन् । दादुरा–रुबेला संक्रमणको जोखिमलाई मध्यनजर गरी सरकारले यहि फाल्गुन १३ गतेदेखी चैत्र ७ गतेसम्म देशका ७५ ओटा जिल्लामा यो अभियान सञ्चालन गरेको थियो ।
गोदावरी नगरपालिकाले भने दादुरा—रुबेला विरुद्धको खोप अभियान हिजो (आइतबार) सम्पन्न गरेको हो । नगर भित्रका १६ ओटा स्वास्थ्य सँस्थाबाट ३२ हजार १७ बालबालिकाले दादुरा—रुबेला विरुद्धको खोप लगाएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताएका छन् ।

९ महिनादेखी ५ वर्ष मुनीका ७ हजार २५१ जना र ५ देखी १५ वर्ष उमेर समूहका २४ हजार ७६६ जना बालबालिकाले खोप लगाएको अवस्थीले जानकारी दिएका छन् । नगरपालिकाले फाल्गुन १३ गतेदेखी २३ गतेसम्म मात्रै खोप अभियान सञ्चालन गर्ने सुरुमा बताएको भएपनि हिजोसम्म जारी राखेको थियो ।
१० दिने खोप अभियानपछी गरिएको सर्वेक्षणमा नगर भित्रका ४२ बालबालिका दादुरा—रुबेला खोपबाट बाहिर रहेको पाईएपछी ती बालबालिकालाई पनि खोजेर खोप लगाईएको अवस्थीले बताएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय कैलालीले गोदावरी नगरपालिकाको स्वास्थ्य शाखालाई २८ हजार २७४ बालबालिकालाई खोप लगाउपर्ने लक्ष्य तोकेको थियो ।
तर अभियानमा लक्ष्य भन्दा बढी बालबालिका समेटिएका छन् । बाहिरबाट आएर नगरका विभीन्न वडामा अस्थाई रुपमा बसोबास गर्दै आएका बालबालिका पनि खोप अभियानमा समेटिएका हुन् ।
खोप अभियान सम्पन्न गर्न स्वास्थ्य शाखाले नगरका १६ ओटा स्वास्थ्य सँस्था मातहत १२८ ओटा केन्द्र तोकेको थियो । अभियानमा २५६ जना स्वास्थ्यकर्मी तथा ३८४ जना स्वयंसेवक खटिएका थिए ।