सुदूरपश्चिममा कोरोना संक्रमण बढ्दै

Image
maya metro

धनगढी – सुदूरपश्चिम प्रदेशमा पछिल्ला साता कोरोना भाइरसको संक्रमण दर उकालो लाग्न थालेको छ ।

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांकका अनुसार पछिल्लो आठ दिनमा प्रदेशमा २१ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।

nisarga

यसअघि गत १२ देखि ३० फागुनसम्मको १८ दिन २६ जनामा कोरोना संक्रमण देखिएको थियो । कोरोना संक्रमित बढ्दै गए पनि यो रोगको रोकथाम र निगरानीका लागि त्यति चासो देखिएको पाइँदैन ।

कोरोना भाइरसको संक्रमण बढेको भए पनि यसको रोकथाममा त्यति चासो नदेखाइएको गौरीफन्टा सीमानास्थित ‘हेल्थ डेस्क’का अहेब गणेश साउदले बताए । हेल्थ डेस्कमा एन्टिजेन विधिबाट कोरानाको नमुना जाँच हुने गरेको छ ।

‘देशका अरु नाकामा यो रोगका संक्रमित देखिएका छैनन्, सुदूरपश्चिमका नाकामा कोरोनाका बिरामी फेला परेका छन्,’ उनले भने । कोरोनालाई नागरिकले सामान्य रुपमा लिँदा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनमा चासो नदिने गरेको पाइएको पनि छ ।

धनगढीका स्थानीयवासी लेखराज ओझाले भने, ‘कुनै समयमा गाउँमा हैजा, झाडापखाला लाग्दा रोगीनजिक जानु नहुने र रोगबाट जोगिन स्वस्थ्य व्यक्ति गाउँ नै छोडेर सुरक्षित भएर बस्नुपर्ने अवस्था थियो, नागरिकले अहिले कोरोनालाई पनि सामान्य रोगजस्तै लिन थालेको हुनसक्छ ।’

पछिल्लो सातामा सुदूरपश्चिमका सीमा नाकाहुँदै भित्रिने नागरिकमध्ये शंकास्पद ६ सय २० को एन्टिजेन विधिबाट नमुना जाँच गरिएको छ ।

‘सिकिस्त अवस्थाका कोरोना संक्रमित फेला परेका छैनन्,’ अहेब साउदले भने, ‘कोरोनाको लक्षण देखिएकालाई घरमै छुट्टै आइसोलेशनमा बस्न सल्लाह दिएर पठाउने गरेका छौँ ।’

हेल्थ डेस्कमा कोरोनाको नमुना जाँच गर्ने कीट, लगायतका सामग्रीको अपर्याप्तता देखिएको छ । प्रदेशमा विगतमा कोरोना संक्रमितको उपचार व्यवस्थापनका लागि बनाइएका क्वारेन्टाइन,र होल्डिङ सेन्टर प्रयोगविहीन अवस्थामा छन् । गौरीफन्टा, गड्डाचौकीलगायतका सीमा नाका हुँदै भित्रिने नागरिकमा कोरोना संक्रमण देखिने गरेको हो ।

गएको पुसअघिको आठ÷दश महिना शून्य रहेको कोरोना संक्रमण गत पुस महिनादेखि पुनः देखिन थालेको हो । ‘हेल्थ डेस्कका कर्मचारीलाई गत साउन देखिको तलब परिश्रमिकसमेत खान पाएका छैनन्,’ साउदले भने, ‘तलब नपाउँदा कर्मचारीले पीडाबोध गरिरहेका छन्, हेल्थ डेस्कमा एन्टिजेन कीट, मास्क लगायतका सामग्री पनि पर्याप्त नहुँदा काम गर्ने मनोबल पनि घटेको छ ।’

रासस