अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ स्थीत चापसल्ली आधारभूत सहरी सेवाकेन्द्रमा जनशत्ति अभाव भएको छ । नगरपालिकाको विकट वडा मानीने १२ नम्बर स्थीत उत्त स्वास्थ्य सेवा केन्द्रमा एक अहेब,दुई अनमी,एक कार्यालय सहयोगी र एक स्वीपर गरी ५ जनाको दरबन्दी भएपनि हाल एक अहेब र एक स्वीपर गरी दुईजना मात्रै कार्यरत रहेका छन् ।
स्वास्थ्य सेवाकेन्द्रमा कार्यरत एक अनमी पनि १७ दिन अघि सुत्केरी बिदामा गएपछी सेवा प्रभावित हुन थालेको सेवाकेन्द्रका अहेब रविन्द्र बोहराले बताए । सुत्केरी बिदामा जानेकुरा दुई महिना अगाडि देखी नै नगरपालिकालाई जानकारी गराउँदा समेत बेवास्ता भएको उनको भनाई छ । “म पनि फिल्ड हिँडिरहनुपर्छ,म बाहिर जाँदा सेवाग्राहिलाई समस्या हुने गरेको छ अहेब बोहराले भने ।”
दरबन्दी बमोजिम जनशत्ति नहुँदा नियमित खोप सञ्चालनका लागि पनि बाह्य सहयोग लिनुपर्ने उनले बताए । त्यस्तै वडा नम्बर १२ का वडा अध्यक्ष भिम बहादुर खड्काले दुई महिना अघिदेखी नगर प्रमुख,प्रमुख प्रशासकिय अधिकृत,स्वास्थ्य शाखा लगायतलाई जानकारी गराँउदा समेत सुनुवाई नभएको गुनासो गरेका छन् ।
“दुई महिनादेखी मेयरसाप, प्रमुख प्रशासकीय अधिकृत,प्रशासकीय अधिकृत,स्वास्थ्य शाखा लगायतलाई भन्दै आएको छु तर अहिलेसम्म स्वास्थ्यकर्मी पठाउनु भएको छैन अहेबले यताउता जाँदा स्वास्थ्यचौकी नै बन्द गर्नुपर्ने अवस्था आएको छ, उनले भने ।” सेवाकेन्द्रमा कार्यरत एक अनमीलाई गतवर्ष आफुसंग समन्वय नै नगरी सरुवा गरेको खड्काको भनाई छ । बर्थिङ्ग सेन्टरको निर्माण सम्पन्न गत वर्ष नै भएपनि सञ्चालनमा ल्याउन आनाकानी भईरहेको उनले बताए ।
गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले कार्यक्रमहरु सञ्चालन गर्ने भएपनि कर्मचारी सरुवा तथा खटनपटनमा स्वास्थ्य शाखाको कुनै भुमिका नहुने बताए । सेवा प्रभावित हुन नदिनका लागि अगाडि नै जनशत्ति खटनपटन भने गर्नुपर्ने उनको भनाई छ । गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत शिवराज भाटले सेवाकेन्द्रमा कार्यरत अनमी सुत्केरी बिदामा बसेकाले केहि दिनदेखी जनशत्ति अभाव भएको स्वीकारे ।
“त्यहाँ कार्यरत अनमी बिदामा बस्नुभो,हामीले सेवा प्रभावित हुन नदिनका लागि केहि दिन अघि नै व्यवस्थापन गर्नुपर्ने हो तर कार्य व्यस्तताले केहि ढिलो भएको छ, उनले भने छलफल सुरु भईसकेको छ एकदुई दिन भित्रमा व्यवस्थापन गछौँ।”
बर्थिङ्ग सेन्टर पनि सञ्चालनमा ल्याउने भनेर चापसल्ली आधारभूत स्वास्थ्य सेवाकेन्द्रमा दुई अनमी र एक अहेब गरी पाँच जनाको दरबन्दी राखिएको भन्दै उनले अहिले बर्थिङ्ग सेन्टर सञ्चालनमा नआएको अवस्थामा एक अहेब र एक अनमी सहितले पनि काम गर्न सकिने बताएका छन् ।