
धनगढी – कैलालीबाट भन्सार छलीका सामानसहित ३ जना पक्राउ परेका छन्।
कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहरा गाउँबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याउदै गरेका अन्दाजी मूल्य ८९ हजार नौ सय पचास बराबरको भाँडा वर्तन, किरानाका सामान, साइकल ३ थानसहित भारत लखिमपुर खिरी ग्राम पञ्चायत बिनौरा बस्ने २२ वर्षीय वसी साहा, २४ वर्षीय नसिम साहा र २० वर्षीय सुहेल खाँन पक्राउ परेका हुन्।

अस्थायी प्रहरी पोष्ट मनेहरा, कैलालीबाट खटिएको प्रहरी टोलीले सोमबार दिउँसो फेला पारी उक्त सामानसहित तिनै जनालाई नियन्त्रणमा लिएको जनाएको छ।
यसैगरी, कैलालीको विभिन्न स्थानबाट अवैध रुपमा भारतबाट भन्सार छली गरी ल्याएका अन्दाजी मूल्य १ लाख २८ हजार ३० बराबरको साडी, सुटपिस, किराना लगायतका सामान सोमबार जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको छ।















