कैलाली – कैलालीको लम्कीचुहा नगरपालिकामा अचेत अवस्थामा भेटिएका दुई पुरुषको मृत्यु भएको छ। छुट्टाछुट्टै स्थानमा अचेत फेला परेका उनीहरूको उपचारका लागि अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुईमध्ये लम्कीचुहा नगरपालिका-५ का अन्दाजी ५१ वर्षीय सागर विक रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

अर्का एकजनाको भने सनाखत हुन सकेको छैन। विक मंगलबार बाटोमा अचेत अवस्थामा फेला परेका थिए। इलाका प्रहरी कार्यालय लम्कीबाट खटेको प्रहरी टोलीले उपचारको लागि स्थानीय अस्पताल भल्कामा लग्दा चिकित्सकले मृत घोषणा गरेको हो।
यसैगरी अन्दाजी ५५ वर्षका पुरुष लम्कीचुहा-३ खैरेनीस्थित रानी जमरा कुलरिया सिँचाइ आयोजनाको नहर नजिकै अचेत फेला परेका थिए।
इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले उद्धार गरेर उपचारका लागि लम्कीस्थित लालरत्न अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको हो।
दुवै पुरुषको मृत्युको विषायमा अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।