किन बढिरहेछ बालविवाह : कसको दोष कति ?

Image

कैलाली – कैलालीकी ममता शाह २० वर्षकी भइन्। उनको साथमा तीन वर्षीय छोरी छिन्। उमेर नपुग्दै बिहे गरेका कारण ममताले पढाई मात्र छोड्नुपरेन मर्नु न बाँच्नुको दोसाँधमा पुगेर फर्किनु पर्यो। १७ वर्षको उमेरमा शल्यक्रिया गरेर बच्चा जन्माउन पर्दा झण्डै मरेको उनी बताउँछिन्।

“शल्यक्रिया गर्नुपर्ने भनेपछि त झन् अब बाँच्दिन होला जस्तो लागेको थियो तर बाँच्नु लेखेको रैछ”, उनले भनिन्।

2 ad new year 1

बच्चाको स्याहार सुसारमै व्यस्त उनलाई अचेल आफूले १५ वर्षकै उमेरमा विहे गरेकोमा पछुतो भइरहन्छ।

“छोरीलाई स्कुल पुर्याउन जाँदा कहिलेकाँही सम्झिन्छु– मै पनि त स्कुल जाने उमेर छ नि! बालकैमा बिहे गरियो के के न होला भनेको आफैलाई दुःख रहेछ, आफैलाई खति रहेछ,’ उनले भनिन्, ‘उमेर मात्र होइन आत्मनिर्भर भएपछि मात्रै बिहे गर्नुपर्छ भनेर सम्झाउने मान्छे भएको भए त सायद गर्दिन थिए होला कि!”

उनलाई एक जना भाउजुले अहिलेका श्रीमानसँग चिनजान र कुरा गराइदिएकी थिइन्। कुरा गर्दै जाँदा उनलाई श्रीमान मन परेको थियो। केही समयमै उनले विहेको प्रस्ताव गरे। त्यसपछि ममताले पनि भागेर विहे गरिन्। त्यतिबेला उनलाई भविष्यको बारेमा गम्भीर भएर सोच्नै आएको थिएन रे। जब विहेपछि श्रीमानको घरमा उनी गइन् बल्ल झसंग भइन रे।

“उहाँको घरमा गइसकेपछि पो पछुतो लाग्न थाल्यो,श्रीमानसँग सुत्न पनि मलाई त डर लाग्थ्यो”, उनले भनिन्।

डोटीबाट भागी बिहे गरेर कैलाली पुगेकी उनी महिना दिन नपुग्दै फेरी माइत फर्किइन। उनलाई पोइली घर जानै मन लागेन। करिब डेढ वर्ष माइतमै बसिन्। त्यसपछि ‘छोरी मान्छेले घर खानुपर्छ’ भन्दै अविभावकले श्रीमानको घरमै पठाइदिए।

श्रीमानको घर आएको वर्षदिन पनि नपुग्दै उनले छोरी जन्माउनुपर्यो। अहिले पनि उनलाई अर्काको बहकाउमा लागेर बिहे गरेछु जस्तो लाग्छ।

“श्रीमान त राम्रै हुनुहुन्छ तर मलाई चाँही पढ्न नपाएकोमा साह्रै दुःख लाग्छ। अब छोरीलाई त धेरै ख्याल गर्छु,उस्ले चाहेजति,आफूले सके जति पढाउँछु,ठूलो मान्छे बनाउँछु”, उनले भनिन्।

डोटीकी तुल्सी बोहरा कक्षा १० मा पढ्दै गर्दा जीप चालक युवकसँग प्रेममा परिन्। दुई महिना नपुग्दै उनीहरूले बिहे गरे। करिब तीन वर्षपछि तुल्सीले पहिलो छोरा जन्माइन् भने त्यसको अर्को वर्ष कान्छा छोरा जन्मिए। तुलसी छोराहरूको स्याहारमै व्यस्त थिइन्। २०७७को माघमा घरबाट गाडीको लाईसेन्स लिन पोखरा जान्छु भनेर निस्केका श्रीमानले अर्कै केटी लगेर गएको भन्ने सुनेपछी तुल्सीलाई पत्याउनै मुस्किल पर्यो।

उनले फोन गरिन्।

“मैले अर्को बिहे गरीसके,तँ अबदेखि मलाई फोन नगर्नु,” श्रीमानको जवाफ सुनेर सुरूमा उनले पत्याइनन्। ठट्टा गरेको होला भन्ने लाग्यो। फेरि फोन गर्दा उनले बल्ल पत्याइन्। उनलाई त चक्कर आउलाजस्तो भयो रे।

“आफैले रोजेर बिहे गरेका श्रीमानले यसरी विचल्लीमा पार्लान भनेर कहिले कल्पना नै गरेको थिइनँ”, उनले भनिन्। श्रीमानले अर्को बिहे गरेको भन्ने निश्चित भएपछी उनले इलाका प्रहरी कार्यालय मालाखेतीमा खबर गरिन्।

प्रहरीले पक्राउ गर्यो। केहीसमय हिरासतमा बसेपछि दोस्री पत्निसँग छुट्नुपर्ने, आफूहरूको बिहेदर्ता र छोराहरूको जन्मदर्ता बनाउनपर्ने शर्तमा उनले हिरासतबाट पतिलाई छुटाइन्। परिवारको रोहबरमै प्रहरीले उनीहरु दुवैजनालाई छोड्यो। केहीमहिनामा श्रीमान दोस्री पत्निसाथ भारत पसे। तीनवर्षपछि मात्र उनले आफ्नो नागरिकता र छोराहरूको जन्मदर्ता बनाउन सकिन्। अहिले उनी अत्तरिया बसपार्कमा ठेलामा फलफूल बेचेर छोराहरूको पालनपोषण गरिरहेकी छिन्।

पढ्ने उमेरमा बिहे गरेकोमा पछुतो लागे पनि अब आफूलाई सजिलो नहुने उनले बताइन्।

“अब त म कठोर भइसकेँ। पछुतो मानेर समेत केही हुन्न। आफै गरेर खान्छु,आफ्ना छोराहरूलाई पाल्छु,’ उनले भनिन् ‘पछुताएर वा अब श्रीमान फर्केला र घर व्यवहारमा मलाई सहज होला भन्ने त कल्पना नै गरेकी छैन।”

किशोरावस्थामा प्रेममा परेर हतारमै गरिएको बिहेपछि पछुताइरहेका यी केहि प्रतिनिधि पात्र मात्रै हुन्।

आफूखुसी बाल विवाहका घटना प्रशस्त रहेको विभिन्न तथ्याङ्कले देखाउँछ। सुदूरपश्चिमका नौ वटै जिल्लाको केन्द्रविन्दु मानिने कैलालीको अत्तरियामा ज्योति सामुदायिक विकास सेवा नेपाल सूचना तथा परामर्श केन्द्रले नौ महिनाको अवधिमा (२०८० माघदेखि २०८१ कार्तिकसम्म) घरमा जानकारी नगरि भागेर विवाह गर्ने भन्दै आएका,१८ वर्ष मुनिका ३८ किशोरीको उद्धार गरि पुर्नस्थापित गरेको बताएको छ।

कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–३ मा रहेको मालाखेति अस्पतालमा गत आर्थिक वर्ष २०८०/८१ मा २३५ जनाले सुत्केरी सेवा लिएकोमा ४२ जना २० वर्ष मूनिका रहेका छन्। यो सङ्ख्या झण्डै १८ प्रतिशत हो। मालाखेति अस्पतालका जनस्वास्थ्य निरीक्षक तथा सूचना अधिकारी सत्यराज फुलाराका अनुसार २० वर्ष भन्दा कम उमेरमा आमा बन्नेको सङ्ख्या आर्थिक वर्ष २०७९/८० मा झण्डै १४ प्रतिशत थियो।

प्रहरी निरीक्षक सरस्वती अधिकारी समाज संकुचित हुँदा बालविवाहको समस्या बढेको बताउँछिन्।

“समाजले केटाकेटीलाई साथी मात्रै बनेको समेत देख्न रूचाउँदैन,’ अधिकारीले भनिन्, ‘अनि भावनात्मकरूपले नजिक हुनेवित्तिकै विहे गर्ने तहमा केटाकेटी पुग्छन्।”

आमाबावुले हुर्कदै गरेका छोराछोरीलाई यौन, प्रजनन् तथा विवाहबारे खुलेर कुरा गर्ने वा बुझाउने भएको भएपनि बालविवाह धेरै कम हुन्थ्यो भन्ने विश्वास अधिकारीको छ।

“आमाबुवा र परिवारले पनि उनीहरूसँग खुलेर यौन,प्रजनन्,विवाह लगायतका कुरा गर्दैनन्,’ उनले भनिन्, ‘गर्ने भएको भए किशोर–किशोरीले बुझ्न सक्थे। आफ्ना कुरा परिवारले बुझ्छन् भन्ने पनि हुन्थ्यो। परिवारमा कुरै नहुने भएपछि आफूलाई सबैभन्दा धेरै बुझ्ने र माया गर्ने यही केटा वा केटी हो भन्ने लाग्छ। त्यसपछि उनीहरू भविष्यको कुनै यौजना विना पनि बिहेको निर्णयसम्म पुग्छन्।”

स्कुल, समाज र परिवारमा यौन र प्रजननका बारेमा खुलेर कुरा गर्ने वातावरण भएमा यस प्रकारका घटना कम गर्न सहज हुने उनको भनाइ छ।

परिवारले सम्झाइ बुझाइ नगरे पनि यौन र प्रजननका विषय विद्यालयको पाठ्यक्रममा भने पढ्नुपर्छ। पढ्नु नै पर्ने भएकाले विद्यार्थीले थाहा त पाएका हुन्छन् तर एकअर्का मन नै परिसकेपछि के गर्ने भन्नेमा भेउ पाउँदैनन्। त्यसैले विहेको निर्णयमा पुग्ने गरेको उनिहरू बताउँछन्।

४ वर्षअघि १७ वर्षको उमेरमा प्रेम विवाह गरेका कैलालीको गोदावरी — ८ का सन्तोष रोका मगर बाल विवाह गर्नु हुँदैन भन्ने थाहा हुँदाहुँदै पनि मन परेपछि बिहे गरेको सुनाउँछन्।

“स्कुलमा पनि पढाइ त हुन्थ्यो। हामीलाई स्वास्थ्य किताब पढाउने अर्जुन सरले २० वर्षसम्म बिहे गर्न पाईँदैन भनेर पढाउनु हुन्थ्यो। तर हामी त एकअर्कालाई मन पर्यो। मन परे के गर्ने भन्ने थाहा भएन। अनि बिहे गरिहाल्यौँ”,उनले भने।

त्यस्तै २० वर्ष नपुग्दै प्रेम विवाह गरेकी पुष्पा दमाईलाई आत्मनिर्भर भएपछि मात्रै बिहे गर्नुपर्ने रहेछ भन्ने कुरा अहिले अनुभवले सिकाएको छ। गोदावरी—६ को शैलेश्वरी मावि बडेहाँमा कक्षा १२ सम्म अध्ययन गरेकी उनले यौन र प्रजनन् स्वास्थ्यबारे धेरैजसो कुराहरू विद्यालयमा पढिए पनि त्यो जीवनमा लागु गर्नुपर्छ भनेर गम्भीररूपमा नलिएको बताइन्।

“हामीले पढेको त हो तर जीवनमा लागु गर्नुपर्छ भन्ने गरि गम्भीर भइएनछ। प्रेममा परेपछि विहे गरियो। विहे भएपछि बल्ल हामीलाई थाहा भयो उमेर पुगेपछि/आत्मनिर्भर भएपछिमात्र विहे गर्नुपर्ने रहेछ।”

सानै उमेरमा विहे गर्न हुन्न भनेर केटाकेटीले बुझ्ने गरि कसरी पढाउने भन्ने सोच्नुपर्ने र सिर्जनात्मक तरिकाले बुझाउने कसरी भन्नेबारे सोधखोज गर्नुपर्ने शिक्षकहरू भने किशोरकिशोरीलाई नै दोष दिएर उम्किने गरेका छन्।

सानै उमेरमा किशोर/किशोरीहरूले भागेर बिहे गरेका घटनाहरूले आफूहरूलाई समेत हैरान बनाएको कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–८ मा रहेको दुर्गा मा.वि. हाटखोलिका प्रधानाध्यापक कर्ण बहादुर साउँद बताउँछन्।

सानै उमेरमा बिहे गर्नेमा उचित अभिभावकत्व नपाएका किशोरीहरू रहेको उनको बुझाइ छ।

“छोराछोरीकै जिम्मामा घर छोडेर आमाबुवा रोजगारीको सिलसिलामा भारत गएका हुन्छन्। बच्चाको हातमा मोबाइल दिइएको हुन्छ,उनीहरुले के गरिहेका छन् भन्ने थाहा नै हुँदैन,’ उनी भन्छन्, ‘शिक्षक अझ प्रधानाध्यापकको हकले मैले पनि दोष खेपिरहेको छु।”

यो क्रम रोक्न विद्यालयका तर्फबाट आफूले प्रयास गरे पनि सफल नभएको उनको दाबी छ।

“हामीले दिने भनेको शिक्षा हो,पहिलो कुरा पाठ्यपुस्तकमा बाल विवाह,यौन तथा प्जनन् लगायतका विषयहरू समावेश छन्, यी विषयहरू खुलेर पढाउनुस भनेर मैले विषयगत शिक्षकलाई बेलाबेलामा भनिरहेको हुन्छु,’ उनले भने, ‘त्यसभन्दा बाहेक हरेक दिन पहिलो कक्षा सुरू गर्नुभन्दा पहिले पाँच मिनेट बाल विवाह,महिला सशक्तिकरण अनि परिवेश अनुसारका विषयवस्तुमा अभिमुखीकरण गर्ने गरेका छौँ।”

आफूले विभिन्न संघ संस्थाको सहयोगमा विद्यालयमा यौन तथा प्रजनन्,महिनावारी,स्यानेटरी प्याड लगायतका विषयमा विभिन्न कार्यक्रमहरू पनि सञ्चालन गर्ने गरेको उनले बताए।

गोदावरीकै नवज्योति मा.वि.की प्रधानाध्यापक बसन्ती भट्ट पनि आफूले राम्ररी पढाएको दबी गर्छिन्।

किशोरीहरूसँग कक्षा कोठामाभन्दा अन्य समयमा पनि साथीजस्तै बनेर उनीहरूसँग कुरा गर्ने गरेको उनले बताइन्। मोबाइल र सामाजिक सञ्जालका कारण पनि सानै उमेरमा प्रेम गर्ने,विवाह गर्ने क्रम बढेको उनी बताउँछिन्।

“म आफैले पनि केहि वर्ष स्वास्थ्य शिक्षा पढाए,यौन,प्रजनन विषयमा पढाउँदा किशोरीहरु बढी लजाउँथे,उनले अनुभव सुनाईन अनि मैले कक्षा कोठामा भन्दा अन्य समयमा पनि उनीहरूसँग साथीजस्तै बनेर यस विषयमा कुरा गर्थे,त्यो बेलामा कक्षाको भन्दा उनीहरुले बढी कुरा खोल्छन् ।”

बच्चाहरु एक्लै छोडेर आर्थिक अभावका कारण आमा र बुवा दुवै जना भारत जाने गरेकाले बालबालिकाले अभिभावकत्व नपाउँदा यस्ता घटना भइरहेको उनले बताइन्।

के भन्छ प्रहरी?

गत वर्षको मंसिरमा इलाका प्रहरी कार्यालय मालाखेतीमा अछामबाट एकजनाले फोन गरे। उनले अछामबाट १५ वर्षीय किशोर र १४ वर्षीय किशोरी घरबाट भागेर धनगढीतर्फको गाडिमा आएकोले अत्तरियामा रोकिदिन आग्रह गरे।

इलाका प्रहरी कार्यालय मालाखेतीको टोली त्यसै जानकारी अनुसार अत्तरिया बसपार्कमा खटियो र सम्भावित गाडिहरुमा जाँच गर्यो। नभन्दै फोन गर्ने व्यत्तिले दिएको हुलिया अनुसारका किशोर किशोरी अछामबाट अत्तरिया बसपार्क आइपुगेको बसमा फेला परे। उनीहरूलाई इलाका प्रहरी कार्यालय मालाखेतीको कार्यालयमा ल्याइयो। सम्झाइबुझाइ गरी दुवैलाई अभिभावकको जिम्मा लगाइयो। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार ९ र ८ कक्षामा पढ्दै गरेका उनीहरू भागेर भारत जाने र उतै बिहे गरेर सँगै जीवन बिताउने भनेर अछामबाट निस्किएका थिए।

इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापा उमेर नपुगेरै भागेर गएको भन्ने केस आएमा प्रायः दुवै पक्षलाई सम्झाइबुझाइ गरेर अभिभावकको जिम्मा लगाइने कार्यलाई नै प्राथमिकता दिने बताउँछन्।

“मुद्दा दर्ता गर्न किशोरीको परिवार राजी हुँदैन। बरू पछि बिहे गर्ने गरि नै सम्झाइ दिनुस भन्ने हुन्छ। फेरी सजाय नै दिलाउँदा मेरो छोरा/छोरीले ज्यानै पो फाल्ने हो की ! भन्नुहुन्छ अनि हामीले पनि प्रायः केशमा उहाँहरूकै माग बमोजिम गरेका हुन्छौँ”, उनले भने।

व्यवहारिकता हेर्नुपर्ने हुँदा बाल विवाहको कानुन कार्यान्वयनमा जटिलता देखिएको अधिवक्ता गणेश कडायत बताउँछन् ।

“मुद्दा दर्ता हुँदा दोषी भएमा तीन वर्षसम्म कैद र ३० हजारसम्म जरिवाना गर्नसकिने व्यवस्था छ तर पहिलेपहिले पो आमाबुवाले जवरजस्ती बिहे गरिदिन्थे र बाल विवाहको मुद्दा दर्ता हुन्थ्यो अहिले त केटा केटीले आफ्नो खुसीले बिहे गर्छन्,हामीलाई छुटाए मरिदिन्छौँ भन्छन्, अनि परिवार पनि चुपचाप फर्किन्छ। प्रहरी पनि साइड लाग्छ“, उनले भने।

यसो भनेर सम्बन्धित निकायहरू उम्किन भने नपाइने कडायत बताउँछन्। सबैभन्दा पहिले आमा बुवाले नै असल अभिभावकत्व निभाउने प्रयास गर्नुपर्ने उनको भनाइ छ।

किशोरी लक्षित कार्यक्रमहरू आवश्यक

अधिवक्ता कडायत यस्ता घटना न्युनिकरण गर्न किशोरीलक्षित कार्यक्रमहरू आवश्यक रहेको बताउँछन् । बाल विवाह भएमा पिडित हुनेमध्ये बढी किशोरी नै पर्ने भएकोले किशोरीलाई प्राथमिकतामा राखेर कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने उनको भनाइ छ ।

गोदावरी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले नगरपालिका भित्रका अस्पतालहरुमा सुत्केरी भएको सङ्ख्या हेर्दा नगरपालिकामा बाल विवाहको दर नौ प्रतिशत रहेको बताए। कानुनले बन्देज गरेको कुरा भएकोले यो शून्य हुनुपर्ने भए पनि त्यस्तो नदेखिएको उनको भनाइ छ। नगरपालिकाको स्वास्थ्य शाखाले बाल क्लबहरूमार्फत किशोर किशोरी अभिमुखिकरण कार्यक्रम लागु गरिएको बताउँछन् ।

“बाल विवाह, लैङ्गिक हिंसा,सुरक्षीत गर्भपतन,एचआइभि,पोषण सम्बन्धि कार्यक्रमहरु सञ्चालन गरिहेका छौँ,महिला स्यमसेविकाहरुसंग सहकार्य गरेर पनि कार्यक्रमहरु भईराखेका हुन्छन्,विभिन्न गैरसरकारी संघ संस्थाहरुले पनि कार्यक्रम गरिराखेकै छन् तर पनि प्रभावकारी देखिदैँन“, उनले भने, “अब हामी सबै पक्षले यी कार्यक्रमहरू किन प्रभावकारी भइरहेका छैनन् भन्ने समिक्षा गरि अगाडि बढ्नुपर्ने समय भएको छ।“